प्रकाशित मिति : शनिबार, माघ १५, २०७३
मोरङ । सभामुख ओनसरी घर्तीले विगतका आन्दोलनले स्थापित गरेका हक अधिकारलाई संस्थागत गर्न राजनीतिक दलले निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गर्नुपर्ने बताएकी छिन्।
नेपाल मगर विद्यार्थी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले अधिकार प्राप्तीसँग सम्बन्धित गुनासा र असन्तुष्टिलाई सहमतिका आधारमा संवैधानिक तवरले सम्बोधन गर्न सुझाव दिइन्।
नेपाली जनताका हक अधिकारसँग जोडिएका प्रावधानलाई कार्यान्वयन गराउन चनाखोका साथ राजनीतिक दलका नेतालाई घच्घच्याउन आवश्यक रहेको बताउँदै उनले सामाजिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपाललाई संविधान कार्यान्वयन गरेर अझ सुन्दर बनाउनुपर्ने बताइन्।
“संविधानले पहिलोपटक महिलाका विशेषाधिकार संरक्षण गरेको हुनाले देशमा ‘छोरीले जितेका’ छन्”–उनले भनिन् । नेपाल सांस्कृतिक तथा भाषिक हिसाबले धनी भएको हुनाले पर्यटनको सम्भावना पनि निकै बोकेको धारणा राख्दै उनले हाम्रा सबै श्रम, पसिना देशको विकास र हितका लागि खर्चनुपर्ने बताइन् ।
उद्घाटन समारोह अघि मगर समुदायको वेशभूषा, रहनसहन र संस्कृति झल्कने झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । सभामुख घर्तीले समारोहमा सांसद् डिकबहादुर लिम्बूलाई सम्मान गरिन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij