प्रकाशित मिति : आइतवार, माघ १६, २०७३
भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ ।
प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँका बस्तीसमेत कालाम्मे हुने गरेका छन् ।
प्रदूषणका कारण तरकारीलगायत नगदे बालीको उत्पादनसमेत निकै घटेको छ भने तरकारीका पात तथा काउलीमा कालो लेदो जम्ने गर्दा तरकारीको बिक्री समेत घटेको बताइएको छ ।
धोएर सुकाएको सेता लुगा कालो हुने गरेको गुनासो स्थानीयबासीको छ । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदूषण केही घटे पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी आधा ओट्याएर सानो बनाएपछि कालो धुवाँ जमिनको सतहमै फैलिने हुँदा समस्या सिर्जना भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलका अर्जुन कार्कीले इँटाभट्टाको कालो धुवाँले श्वास फेर्नै गाह्रो हुने बताउँदै इँटाभट्टाले कोइला हाल्दा सिधैँ कोइला बलेको गन्ध आउँदा गाउँमा बिरामी बढेको बताए ।
सूर्यविनायक नगरपालिका चित्तपोलका सुुमन थापाले भने –“समथर जमिनमा इँटाभट्टा सञ्चालन भएका छन्, भट्टाका धुवाँ सिधैँ गाउँभरी फैलिन्छ, बिहान उठ्ने वित्तिकै कोइलाको गन्ध लिएर श्वास फेर्नुपर्छ, घरको छानोदेखि लुगासम्म कालाम्य हुनेगर्छ ।”

चाँगुनारायण नगरपालिका झौखेलका राजाराम श्रेष्ठले इँटाभट्टाको धुवाँले तरकारी उत्पादन घट्नुका साथै बजार नपाएको गुनासो गरे । इँटाभट्टाको धुवाँ तरकारीमा पर्ने र बिहानको शीतले कालो धुवाँ तरकारीको पात एवम् काउलीलगाउतको गोभीमा जम्ने गर्दा तरकारीको बिक्री नै घटेको बताए ।
चाँगुनारायण दुवाकोटका शिवहरी शर्माले तरकारीमा कालो लेदो जम्ने गरेकाले तरकारी खान र बिक्री गर्न नसकेको बताउँदै तरकारीको उत्पादन समेत घटेको गुनासो गरे ।
भक्तपुर जिल्ला अस्पतालका अनुसार धुवाँकै कारण दमको बिरामी बढेका छन् । पछिल्लो समयमा छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउँको दुख्ने जस्ता निकोटिनका कारणबाट देखिने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ ।
भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले घरेलुमा दर्ता भएर नियम सङ्गत रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । अवैध रुपमा सञ्चालित केही इँटाभट्टाले मापदण्ड पूरा नगर्दा कालो धुवाँ फालेको हुनसक्ने बताउँदै उनले अन्य इँटाभट्टाले कालो धुवाँलाई प्रशोधन गरेर फाल्ने प्रविधिसमेत जडान गरेकाले समस्या नआएको बताए ।
इँटाभट्टाको अनुगमन गर्ने निकायका रुपमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले भने यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij