आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४८ घन्टामा यसरी फेला परे अस्पतालबाटै चोरिएको शिशु

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ । गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन् ।

    सन्तान नभएकाले बच्चा चोरी
    पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ । उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ ।

    मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए ।

    शिशुको अवस्था सामान्य
    उद्धार गरिएको शिशुलाई नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियू, सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए । ‘बच्चाको अवस्था नर्मल छ,’ उनले भने । उपचारमा संलग्न चिकित्सक डा. सैलेश ठाकुरले शिशुको अवस्था स्थिर रहेको बताए । ‘बच्चा हामीकहाँ आइपुगेदेखि एनआइसियूमा राखेर उपचार भइरहेको छ । सामान्य इन्फेक्सन देखिएको छ, अरू ठीक छ,’ उनले भने ।

    टाइम लाइन
    २१ माघ, बिहान ७ः००
    छपकैया–१ की आशादेवी पासवान नारायणी उपक्षेत्रीय अस्पतालको बेड नम्बर ६५ मा भर्ना भइन् ।
    २१ माघ, बिहान १०ः४०
    आशादेवीले शिशु जन्माइन ।
    २१ गते मध्याह्न १ः००–२ः००
    शिशु हराएको भन्दै अस्पतालमा खैलाबैला सुरु भयो । यसैबीचमा अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा टेलिफोनमार्फत उजुरी दिए ।

    २१ गते २ः०० पछि  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी अपराध शाखाका प्रहरी निरीक्षक उमाशंकर यादवसहित अस्पताल पुगे । जिल्लाभरका प्रहरी एकाइमा यसबारे जानकारी दिइयो । अस्पताल गएर सुत्केरी नभएको, तर नवजात शिशु कसैले ल्याएको छ कि भनेर सोधपुछ तथा निगरानी गरे । राति नाकानाकामा सम्पूर्ण सवारीसाधन जाँचबुझ तथा मानिसलाई निगरानी गर्न लगाए । दुईजना पीडितका आफन्त तथा अस्पतालका नौजना कर्मचारीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइयो ।

    वीरगन्जका एफएममा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको थाहा भएमा प्रहरीलाई सूचित गर्न सूचना प्रसारण गरियो । प्रहरी नायव उपरीक्षक जोशीले बिहार प्रहरी तथा रक्सौल प्रहरीमा सम्पर्क गरेर सीमावर्ती क्षेत्रमा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको फेला परेमा जानकारी दिन आग्रह गरे ।

    २१ माघ, बेलुका ७ः००–१२ः००
    सोधपुछका लागि ल्याइएका दुईजना पीडितका आफन्त तथा नौजना अस्पतालका कर्मचारीलाई सोधपुछ गरेर छोडियो ।

    २२ माघ, दिउँसो ११ः००–२ः००
    नारायणी अस्पतालमा जम्मा भएका पीडितका आफन्तले सडक अवरोध गरे । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, सहायक प्रजिअ, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नागरिक समाज, पत्रकारलगायतसँग सुरक्षासम्बन्धी छलफल भयो । सबैले आफूले पाएको सूचना प्रहरीलाई दिने, अस्पतालको सुरक्षा व्यवस्था सुधार गर्ने, तीन दिनभित्र प्रहरीले अनुसन्धानमा भएको प्रगति सार्वजनिक गर्नेलगायतका सहमति भयो ।

    २२ माघ, दिउँसो ३ः००
    पीडित महिला आशादेवी पासवानका पति र सासूलाई जिल्ला प्रहरी कार्यालय बोलाएर कुनै सूचना पाइन्छ कि भन्ने आसमा प्रहरीले सोधपुछ ग¥यो ।

    २३ माघ, बिहान ११ः००
    एकजनाले टेलिफोनमा नवजात शिशुबारे जानकारी दिए । तर, उनले आप्mनो नाम सार्वजनिक नगर्न आग्रह गरे ।

    २३ माघ बिहान ११ः१५
    प्रहरी नायव उपरीक्षक जोशीसहितको प्रहरी टोली सूचनामा जनाइएको स्थान श्रीपुर पुग्यो र बच्चा चोरेर लगेको भनिएको व्यक्तिलाई चिन्ने अर्को मानिस लिएर आयो ।

    २३ माघ, दिउँसो २ः००
    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहसहितको प्रहरी टोली बेल्वा–९ मा रहेको बिन्देश्वर साह कानूको घरमा नवजात शिशुलाई लुकाइछिपाई राखेको अवस्थामा शिशुको उद्धार गर्न सफल भयो । र, शिशुलाई अस्पतालमा गई आमा आशादेवी पासवानलाई जिम्मा लगायो ।

    ‘म आएको दुई साता मात्रै भयो, त्यसैवेलादेखि म अस्पतालको सुरक्षामा सुधार ल्याउन तल्लीन भएर लागेको छु । तर, यो घटनाले मेरा सबै योजना खेर गएजस्तो देखियो । अस्पतालमा बिरामीको मात्रै होइन, कुरुवा, कर्मचारी, स्वास्थ्यकर्मी सबैको सुरक्षा आवश्यक छ । सामान्य नजरले हेर्दा सबै व्यक्ति बिरामी अथवा कुरुवा देखिन्छन् । यदाकदा यसरी आउने आपराधिक गिरोहलाई चिन्न र अस्पतालको सुरक्षाका लागि छुट्टै संयन्त्रको आवश्यकता छ । एउटा बच्चा जन्मिएर स्वस्थ भएपछि आमालाई जिम्मा लगाउने हो । उसलाई स्याहारसुसार गर्न अस्पतालको जनशक्ति पर्याप्त छैन । अस्पतालमा पहिलेदेखि नै सिसिटिभी क्यामेरा जडान भए पनि बिग्रिएको अवस्थामा थियो । शनिबारदेखि पावर ब्याकअपको व्यवस्था गरेर १६ वटा सिसिटिभी क्यामेरा चौबिसै घन्टा चल्ने बनाइसकिएको छ । सुरक्षागार्डका रूपमा जम्मा चारजना मात्रै छन् । अब बोर्डबाट पारित गराएर निजी सुरक्षागार्ड राख्ने तयारी गरिरहेको छु ।’ – डा. चित्तरञ्जन शाह, मेडिकल सुपरिटेन्डेन्ट, नारायणी उपक्षेत्रीय अस्पताल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij