प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही फागुन १८ गतेका लागि टेड यूनियनको आधिकारिक निर्वाचनको मिति घोषणा गरेको छ । लामो समयपछि हुन लागेको निर्वाचनमा माओवादी केन्द्र निकटको कर्मचारी संगठनले जित्ने भएपछि विद्युत् चोरीमा लागेका लामो समयदेखि प्राधिकरणभित्र अवैध धन्दा गर्दै आएका काँग्रेस एमाले निकटका कर्मचारी सकेसम्म निर्वाचन भाड्ने नभएपनि जसरी हुन्छ प्राधिकरणको निर्वाचन अधिकृतको कार्यालय नै कब्जामा लिएर ताण्डव नृत्य देखाउने तयारीमा लागेको बुझिएको खबर आजको जनआह्वान साप्ताहिकमा छ ।
प्राधिकरणमा लामो समयदखि हाली मुहाली गर्दै आएका काँग्रेस र एमाले निकटका कर्मचारीको काम विद्युत् चोरी गर्नु, प्राधिकरणलाई हानी नोक्सानी गर्नु र आफ्नो दुनो सोझाउनु नै लागेका थिए । उनीहरु प्राधिकरणको हितमा भन्दा पनि व्यक्तिगत हितमा बढी लागेका थिए । पछिल्लो पटक प्राधिकरण र प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानमा पक्राउ परेका मध्ये काँग्रेस निकटका कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सदस्य नै रहेका छन् । यस्तै एमाले निकटको कर्मचारी यूनियनका केन्द्रीय सदस्य तथा इकाइ अध्यक्ष नै रहेका थिए ।
प्राधिकरणलाई टाट पल्टाउने काममा उनीहरुको हात रहेको पाइएको छ । त्यसमा चुरोटको बट्टामा निवेदन दिएर जागिर खाने प्रमिला ढुंगाना, प्राधिकरणको स्वकिृति नै नलिइ ट्रान्सफर्मर मर्मत केन्द्र खोल्ने जनार्दन भट्टराई, प्राधिकरणको काम भन्दा बढी एमालेको राजनीति गर्ने र प्राधिकरणको महत्वपूर्ण सूचना निजी कम्पनीलाई बेच्ने रामप्रसाद रिमाल, प्राधिकरणको भौतिक सम्पत्ति हिनामिना गरी स्वयम्भुमा सात तल्लाको घर बनाएका रामेश्वर पौडेल नै रहेको पाइएको छ । उनीहरु जसरी पनि प्राधिकरणलाई दुहुनो गाइ बनाउने, ऊर्जा मन्त्री जनार्दन शर्माको खिलाफमा गुटबन्दी गर्ने, उज्यालो नेपाल अभियानलाई सफल हुन नदिने योजनामा लागेका छन् । विद्युत् चोर जोगाउन उनीहरु न्वारनदेखिको बल निकालेर लागेको भन्दै ती यूनियनमा लागेका धेरै कर्मचारीले उनीहरुबाट अलग हुने निर्णय समेत गरेका छन् ।
उज्यालो नेपाल अभियान चलेपछि तिल्मिलाएका विद्युत् चोरहरु व्यापारीसँग मिलेर कमाउ धन्दा चलाउने र प्राधिकरणलाइ जसरी भएपनि असफल बनाउने धन्दामा लागेका छन् । प्राधिकरणलाई हुँदै नभएको सामानको बिल भिडाउने, भण्डारणमा आफ्ना मान्छे खटाएर कमाउ धन्दा चलाउने, कर्मचारी सरुवा तथा बढुवामा मोटो रकम लिने कार्यमा जनार्दन भट्टराई, प्रमिला ढुङगाना, रामप्रसाद रिमाल तथा रामेश्वर पौडेलहरु हत धोएर लागेको उनीहरुकै संगठनका कर्मचारी बताउँछन् ।
विद्युत् चोरलाई नजोगाए जे पनि गर्ने भन्दै उनीहरुले प्राधिकरणको दैनिक गतिविधिमा समेत प्रभाव पार्न खोजेका छन् । प्राधिकरणलाई कमजोर बनाउने र आफ्नो दुनो सोझ्याउने धन्दामा लागेका कारण उनीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने पक्षमा पछिल्लो पटक जनमत बढ्दै गएको छ । जनमतका आधारमा उनीहरलाई कारवाही गर्नुपर्ने पक्षमा देखिएपनि प्राधिकरण व्यवस्थापनले थप केही समय थप अध्ययन गर्ने जनाएको छ ।
विद्युत् चोरीमासंलग्न भएका र त्यसको मतियार भएर काम गरेका कर्मचारी संघ तथा यूनियनले आधिकारिक टे«ड यूनियनको निर्वाचनमा यस पटक पराजित हुने भएका छन् । यस पटक उज्यालो नेपालका पक्षधरहरु नै विजयी हुने सम्भावना बढेर गएपछि जनार्दन भट्टराई , रामप्रसाद रिमालहरुले अब निर्वाचन भाड्नु पर्छ भन्दै प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्लेसँग रोमरसको तालमा तोडफोेड गर्ने योजना नै बनाएको कर्मचारी यूनियनका एक नेतालेबताए । वानेश्वरको होटल इन्द्रेणीको माछापुच्छ्रे हलमा आयोजना गरिएको गोप्य बैठकमा जसरी भएपनि ऊर्जा मन्त्री, प्राधिकरणका प्रमुख विरुद्ध गतिविधि सञ्चालन गर्ने सहमति जुटाएका छन् । विद्युत् चोरी नियन्त्रण अभियान चल्नु, त्यसमा लामो समय देखि उठती धन्दा चलाउँदै आएका कर्मचारी संघ र यूनियनका अधिकारी नै पक्राउ पर्नु तथा आधिकारिक यूनियनको निर्वाचनमा समेत पराजित हुने अवस्था आएपछि जसरी भएपनि निर्वाचन भाड्नु नै उनीहरुको प्रमुख मक्सद रहेको बताइन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij