प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
काठमाडौँ, ७ फागुन । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम आज यहाँ गरिएको छ ।
सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउँदै त्यसका लागि सरकार सचेत रहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक सङ्क्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ ।” प्रधानमन्त्रीले निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के हुन्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुङ्गो लागिसकेको भन्दै उहाँले सरकारले निर्वाचन आयोगलाई आगामी वैशाखको अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनमा सङ्घीयता नै सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सङ्घीयतामार्फत सिंहदरबारको अधिकार, स्रोत र साधन संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तहमार्फत जनताको घरदैलोसम्म पु¥याउन मुख्य उद्देश्य हो, यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने र अवसरबाट वञ्चित र पछाडि परेका वर्ग र समुदायको पहुँच बढ्न गई समग्र राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ ।”
प्रधानमन्त्री प्रचण्डले संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता नेपाली जनताका परिवर्तनका चाहनालाई स्थापित गरेको छ भने मानव अधिकार, शक्तिको पृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्यलाई पनि आत्मसात् गरेको स्पष्ट पार्नुभयो ।
उहाँले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा आमजनता समक्ष आह्वान गर्नुभयो ।
सो समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाइएको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड र प्रधानन्यायाधीश कार्कीले शान्तिका प्रतीक परेवा उडाउनुभएको थियो ।
त्यसैगरी ज्ञात र अज्ञात सहिदप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए ।
राष्ट्रिय खेलकुल परिषद्बाट विविध खेल प्रदर्शन गरिनुका साथै काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिकालगायतले झाँकी प्रदर्शन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रम हेर्नका लागि टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो ।
विराटनगर, ७ फागुन । ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज विराटनगरमा विविध कार्यक्रमको आयोजना गरी मनाइयो ।
सो अवसरमा जिविस मोरङको परिसरबाट कर्मचारी, प्रहरी र विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थीसहित निस्केको प्रभातफेरीले नगरको परिक्रमा गरियो ।
उक्त अवसरमा जिविसको परिसरमा आयोजित हाँडीफोर प्रतियोगितामा विजयी भएकी नर्सिङ क्याम्पस विराटनगरकी छात्रा आयुष्मा लिम्बूलाई रु एक हजार ३१५ को नगद पुरस्कार प्रजिअ यज्ञराज कोइरालाले प्रदान गर्नुभयो ।
त्यस्तै म्युजिकल चेयर प्रतियोगितामा प्रथम भएकी महिला प्रहरी रञ्जु राईलाई रु एक हजार ५००, द्धितीय भएकी नर्सिङ क्याम्पसकी छात्रा सृजना भण्डारीलाई एक हजार र तृतीय भएकी नर्सिङ क्याम्पसकी छात्रा अनुष्मा कार्कीलाई रु ५०० को पुरस्कार स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले पुरस्कार प्रदान गर्नुभयो ।
यसअघि सहिदको तस्बिरमा माल्यार्पन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष भक्तिनाथ माझी, प्रजिअ कोइराला र स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले प्रजातन्त्रको महत्व र संविधान कार्यान्वयनलगायतका विषयमा आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।
पोखरा, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरिएको छ ।
पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो ।
कार्यक्रममा सांसद यज्ञबहादुर थापाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमानसम्म आइपुगेको चर्चा गर्नुभयो ।
देशमा उपलब्धिको रक्षा एवम् संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै उहाँले र अबको वर्षलाई निर्वाचन वर्ष नै घोषणा गरी सबै निर्वाचनमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।
सांसद सीता गिरीले निर्वाचन र प्रजातन्त्रबाट नै जनताको समृद्धि प्राप्त हुने कुरामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले निर्वाचनको माध्यमबाट देशमा राजनीतिक स्थिरता कायम गरी नेपालको दिगो विकासलाई सबैले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले देशमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रलगायत कर्मचारी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछाने, नेकपा (एमाले) कास्कीका प्रचारप्रसार समितिका संयोजक तेजनारायण अधिकारी, नेकपा (माओवादी केन्द्र)का वखानसिंह गुरुङ, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीलगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
प्रभातफेरीमा सुरक्षा निकायका प्रमुख, क्षेत्रीय अञ्चल र जिल्ला कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला समन्वय समितिका उपाध्यक्ष, कन्या माविका शिक्षक एवम् विद्यार्थीलगायतको उल्लेख्य सहभागिता थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij