ठूलो परिमाणको चरेस र गाँजासहित प्रहरीले आइतबार तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
करिब ३१ लाख मूल्य बराबरको १ सय २५ केजी चरेस र ४ लाख मूल्यबराबरको ६२ केजी गाँजासहित प्रहरीले भारत मोतिहारीका ३० वर्षीय मेराज साह, २६ वर्षीय मिथलेश सहनी र २८ वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरेको हो । हेटौंडा रातोमाटे चेकपोस्टका प्रहरीले काठमाडौंबाट रक्सौलतर्फ गइरहेको विआर २९ वि ७१४१ नम्बरको भारतीय जिप रोकेर चेकजाँच गर्ने क्रममा जिपको छतमुनि फल्स बट्म बनाई लुकाएर ल्याएको २ सय १७ वटा प्लास्टिकमा प्याक गरेको चरेस फेला पारेको थियो ।
विशेष ढंगले फल्स वट्म बनाएर चरेस लुकाएर ल्याएको सुराकी पाएकाले चरेससहित साह र सहनीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए । नेपाल प्रवेशको तीन दिनको स्वीकृति लिएको उक्त जिप काठमाडौं पुगेर त्यही दिन फर्केको थियो । धादिङमा चरेस लोड गरेर नारायणघाटको सडक हुँदै उक्त जिप हेटौंडा आइपुगेको थियो । ‘बरामद गरेको चरेसको मूल्य अहिले करिब ३१ लाख रुपैयाँभन्दा बढी पर्छ’ प्रहरी उपरीक्षक लामाले भने ।
यसैगरी, हेटौंडास्थित रातोमाटे चेकपोस्टका प्रहरीले आइतबार ६२ केजी गाँजासहित भारत मोतिहारीका यादवलाई पक्राउ गरेको हो । रातामाटे चकेपोस्टका प्रहरीले हेटौंडाबाट रक्सौलतर्फ गइरहेको विआर ०७ जी ५३४० नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रममा ६ वटा प्लास्टिकमा प्याक गरेको ६२ केजी गाँजा फेला परेको थियो । प्रहरीले गाँजासहित ट्रक चालक यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । यादवले त्रिभुवन राजपथको चुनियामा राति गाँजा लोड गरेर ल्याएको प्रहरीसमक्ष बताएका छन् । प्रहरीले तीन महिनामा गाँजासहित भारतीय नम्बर भएको ८ वटा सवारी साधन र १४ जना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ ।
