आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इम्जा हिमतालको पानी निकासपछि स्थानीय ढुक्क

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • वैशाख १२ मा भुकम्प आउँदा पासाङ रिन्जी शेर्पा दूधकोशीसंगैको फाक्दिङस्थित् आफ्नै होटलभित्र थिए । माथिबाट इम्जा हिमताल फुटेर बाढी आएको होहल्ला भएपछि उनी परिवारलाई लिएर हतार हतार अग्लो डाँडामा उक्लिए ।

    ‘इम्जा फुटेर बाढी आयो भनेर होहल्ला भएपछि ज्यान जोगाउन डाँडामा उक्लियौं,’ शेर्पाले त्यो दिनको अनुभव कान्तिपुरसित सुनाए, ‘धन्न, ताल फुटेको होइन रहेछ, पानीको बहाब मात्र बढेको रहेछ ।’ जोरसल्ले, मन्जो र फाक्दिङमाजस्तै घाट भन्ने ठाउँका वासिन्दा पनि भुकम्पका दिन कम्ता त्रसित भएनन् । ‘इम्जा फुटेर बाढी आउँछ भनेर सबै त्रसित भए,’ घाटमा बस्दै आएका महेन्द्रज्योती मावि, चौंरीखर्कका शिक्षक देवनारायण थारुले भने, ‘अहिले इम्जा तालको पानी घटाइएको भन्ने सुनेपछि यहाँका वासिन्दा ढुक्क भएका छन्, निद्रा राम्रो लागेको छ ।’

    विष्फोटको उच्च जोखिममा रहेको भनिएको १६ हजार ४ सय फिटमा रहेको सगरमाथा निकुञ्जमा पर्ने इम्जा हिमतालको पानीको जलसतह करिब साढे तीन मिटर तल झारिएपछि हिमतालबाट तल्लोतटीय क्षेत्रका वस्तीका स्थानिय ढुक्क बनेका हुन् । ‘तालको पानी घटाइएकाले अब तालको बाँध फुट्ला जस्तो लाग्दैन,’ धेरै पटक इम्जातालको अवलोकन गरेका खुम्जुङका व्यापारी महेन्द्र राईले भने, ‘अहिले स्थानिय वासिन्दा ढुक्क छन् ।’ लुक्ला–नाम्चे पदमार्गको घाटमा होटल याक चलाउँदै आएका उत्रबहादुर राईले हिमतालको पानीको सतह घटेकाले आफूहरु ढुक्क भएको सुनाए । राईले भने, ‘ताल फुटिहाले पनि अब त्यति क्षती गर्छ जस्तो लाग्दैन ।’

    वातावरण मन्त्रालयको जल तथा मौसम विज्ञान विभागअन्तर्गत् सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विष्फोट जोखिम न्युनीकरण आयोजना’मार्फत् इम्जा हिमतालको पानीको सतह ३.४ मिटर तल झार्ने काम गत मंसीरमा सम्पन्न भएको थियो । हिमतालको पानीको सतह घटाई जोखिम न्युनीकरण गर्ने कार्यका लागि करिब ३१ करोड रुपैयाँ खर्च भएको थियो ।

    विश्व वातावरण कोष (जिईएफ) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको इन्जिनियरिङ विभागका प्राविधिक र स्थानिय शेर्पाहरुको सहयोगले हिमतालको पानीको सतह ३.४ मिटर घटाउन निकास बनाइएको थियो । करिब ५० मिटर लामो निकास (कुलो) खनेर इम्जा हिमतालको पानी इम्जा खोला हुँदै दुधकोशी नदीमा मिसाइएको हो ।

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक तथा आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा.ऋषीराम शर्माले निकासबाट पानी बाहिर पठाइएपछि इम्जा हिमताल फुट्ने खतरा न्यून भएको बताए । ‘पानी निकास गरिएपछि हिमताल सुरक्षित भएको छ,’ शर्माले भने, ‘तल्लो क्षेत्रमा संभावित जोखिम पनि घटेको छ ।’ अहिले निकासबाट पानी बगिरहेको छ । हिमताल र निकासको रेखदेख करिब एक वर्ष नेपाली सेनाले नै गर्नेछ । त्यसपछि त्यसको जिम्मा विभागले लिनेछ । ‘हामीले घटाएका कर्मचारीले त्यसको रेखदेख र अनुगमन गर्नेछन्,’ उनले भने । उच्च जोखिमै रहेको च्छो रोल्पा हिमतालमा पनि यही प्रविधिमार्फत् पानी निकास गरेर जोखिम न्युनीकरण गरिएको छ । त्यसको रेखदेख पनि विभागले नै गरिरहेको छ ।

    नेपालमा सबैभन्दा उचाइमा रहेको हिमतालको जोखिम न्यूनिकरण पहिलो प्रयास हो । जलवायु परिवर्तनका हिसाबले अति कम विकसित राष्ट्र (एलडीसी) को ‘राष्ट्रिय अनुकुलन कार्ययोजना’ बाट प्राप्त हुने आर्थिक सहयोगमार्फत् हिमतालबाट निम्तिने जोखिम न्युन गर्न उक्त आयोजना सञ्चालन भएको थियो । वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले एलडिसीअन्तर्गत् ‘राष्ट्रिय अनुकुलन कार्ययोजना’को सहयोगबाट ‘यस्तो किसिमको आयोजना पहिलो पटक सम्पन्न भएको’ बताए । मन्त्रालयले यस्तै खाले अन्य कार्यक्रमका लागि पनि अन्तराष्ट्रिय समुदायमाझ आर्थिक सहयोगका लागि वकालत र दबाब दिइरहेको छ ।

    सन् १९६० तिर सानो पोखरीको रुपमा देखिएको इम्जा अहिले बढेर १.२८ वर्गकिलोमिटरमा फैलिएको छ भने तालमा ७ करोड ५२ लाख घनमिटर पानी छ । यसको गहिराई १५० मिटर छ । आयोजनाका कार्यक्रम व्यवस्थापक टोपबहादुर खत्रीका अनुसार इम्जा हिमतालको पानीको सतह घटाएसंगै दुधकोशी नदीको ५० किलोमिटर तल्लोतटीय आसपासका १८ वटा संवेदनशिल स्थानमा समुदायमा आधारित पूर्व सूचना प्रणालीका उपकरणसमेत हस्तान्तरण गरिएको छ ।

    ‘बाढीबाट जोगिन भौतिक पूर्वाधारसंगै स्थानिय वासिन्दालाई तालिमसमेत दिइएको छ,’ खत्रीले भने, ‘त्यसले सम्भावित दुर्घटनाबाट बच्न सहयोग पुर्‍याउने विश्वास छ ।’ खत्रीका अनुसार हिमताल र यसको संभावित विष्फोटनबारे सूचना सम्प्रेषण गर्नका निम्ति स्वचालित पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ ।

    ‘डिङबोचे, पाङबोचे, फुङ्गीठांगा, जोरसल्ले, फाक्दिङ र घाटजस्ता ६ वटा उच्च जोखिमयुक्त वस्तीमा विष्फोटको सूचना स्वचालित साइरनमार्फत् सम्प्रेषण गर्ने प्रविधि जडान गरिएको छ,’ उनले भने, ‘यसले सम्भावित हिमताल विष्फोटको सूचना समयमै तल्लोतटीय क्षेत्रका समुदायमा सम्प्रेषण हुने भएकाले भौतिक र मानवीय क्षती न्युनीकरण हुने अपेक्षा छ ।’ आयोजनाले प्रविधिबारे स्थानिय वासिन्दालाई तालिमसमेत दिएको छ । इम्जा रहेको सगरमाथा निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले भने तल्लोतटीय क्षेत्रका जनता र सरोकारवाला निकायहरुसंग पर्याप्त सहकार्य गर्न आयोजना चुकेको बताए । ‘आवश्यक पर्नेजति सहकार्य हुन सकेको छैन,’ पन्तले भने, ‘गर्नका लागि गर्नभन्दा पनि यसको दिगोपनाबारे सचेत हुनु आवश्यक छ ।’ निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम गेल्जेन शेर्पाले पनि आयोजनाले जोखिम न्यूनीकरणसम्वन्धि सचेतना र रेस्क्यूलगायतका कार्यक्रम सञ्चालन गर्दा समितिसंग सहकार्य नगरेको बताए । ‘संस्थागत भन्दा पनि सीमित व्यक्तिलाई केन्द्रमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम चलाईयो,’ शेर्पाले भने, ‘उहाँहरुले संस्थागत संरचनालाई बाईपास गरेर कार्यक्रम गर्नुभयो, त्यसमा हाम्रो असहमति छ ।’

    खत्रीले हिमतालको जोखिम घटाउने संरचना निर्माणगसंगै सगरमाथाक्षेत्रमा वर्षेनी भ्रमण गर्ने ९६ हजार ५ सय ६२ स्वदेशी तथा विदेशी पर्यटक, पथप्रदशक र सहयोगी लाभान्वित भएकोसमेत बताए । जोखिम न्युनीकरणबारे जानकारी दिन दूधकोशी नदी आसपाका जोखिमयुक्त मानिएका वस्तीमा १२ वटा कार्यदल (टास्क फोर्स) बनाइएको छ । कार्यदलभित्र खोज, संभावित दुर्घटनाबाट बच्चा खोज तथा उद्धार, प्राथमिक उपचार र पूर्व सूचना प्रणालीका उपकरण हस्तान्तरण गरिएको छ ।

    यस्तै, जोखिमयुक्त मानिएका वस्तीमा हिमताल विष्फोटनको जोखिम न्युनीकरण तथा व्यवस्थापन तथा हिमताल विष्फोटन बाढी (ग्लफ) बारे तालिमसमेत दिइएको छ । आयोजनाले जोखिम न्युनीकरणसम्वन्धि सन्देशमुलक जानकारी दिन नेपाली तथा शेर्पा भाषामा एफएमबाटसमेत नियमित रुपमा समुदायलाई सुसूचित गर्दै आएको छ । आयोजनाले लुक्लादेखि इम्जानजिकको वस्तीसम्मै सन्देशमुलक सामाग्रिसहित होर्डिङ बोर्डसमेत राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij