प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३
पुनर्वास । पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार । बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे । तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम ‘कारगिल डाँडा’ राखिदिए । भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको खबर आजको कान्तिपुरमा छ ।
‘सीमापारिबाट दिनहुँजसो मदिरा पिउन आनन्द बजार पुग्ने भारतीय सीमा सुरक्षा बलका जवान र सर्वसाधारणले नै यो डाँडाको नाउँ कारगिल राखेका हुन्,’ स्थानीय शेरबहादुर कामीले भने, ‘गोली चलेको घटना पहिलो हो तर सामान्य तनाव र झडप १७ औं पटक देखिसकेको छु ।’
शेरबहादुरका अनुसार बसहीकस्वा र आनन्द बजारका बासिन्दाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । ‘केही वर्षअघि विद्यालय बनाउँदा पनि उनीहरूले अवरोध गरे । दुवै देशका अधिकारीबीच सहमतिपछि मात्र विद्यालय बन्यो । एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति भएपछि कल्भर्ट बनाइएको हो, यही कारण तनाव बढ्दै जाँदा ३२ वर्षीय युवकले अनाहकमा ज्यान गुमाउनुपर्यो ।’ धनगढीदेखि २५ किमि दूरीमा रहेको आनन्द बजारमा अधिकांश जनजाति समुदायको बसोबास छ । पुनर्वास नगरपालिका ८ मा रहेको यो बजारको पारितर्फ भारतको सानो मन्डी बसही बजार छ ।
दैनिक उपभोगका वस्तु किन्न नेपाली त्यही बजार पुग्छन् । भारतीय नागरिक पनि आनन्द बजार आउजाउ गरिरहेका हुन्छन् । आनन्द बजारदेखि ५ सय मिटर दूरीसम्म नेपाली पक्षको जग्गाजमिन छ । त्यसपछि मात्र दशगजा आउँछ । भारतीय पक्षले भने दशगजावारिकै भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ ।
सीमास्तम्भै गायब
पूर्वतिरको १९९ नम्बर र पश्चिमतिरको २०१ नम्बर सीमास्तम्भबीचको भूभागबारे लामो समयदेखि विवाद छ । त्यहाँ रहेको २०० नम्बर पिलर हराएको वर्षौं भइसक्यो । नेपालीले बनाएको कल्भर्टपारि २२ बिघाभन्दा बढी जग्गामा स्थानीयले कमाइ गर्दै आएका छन् । पश्चिमतिर १३ बिघा छ भने पूर्वतिर ९ बिघा जमिन नेपालीले कमाउँदै आएका छन् । कारगिल डाँडापारिको जग्गामा नेपालीको लालपुर्जा रहे पनि भारतीय पक्षले त्यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको स्थानीय बताउँछन् ।
‘बिहीबारको घटनामा नेपाली भूमिमै आएर भारतीय सुरक्षाबलले गोली चलाएको हो,’ स्थानीय शिक्षक श्याम सुवेदीले भने, ‘कारगिल डाँडावारि र पारि दुवैतिर नेपालीको जमिन छ, जग्गाधनी प्रमाणपुर्जासमेत छ ।’ उनका अनुसार बुधबार राति भारतीय प्रहरीले नेपाली बजारमा आई शम्भु गुरुङको पसल तोडफोड गरे, सामान लगे । ‘त्यहाँबाट फर्कंदा उनीहरूले नेपालीले बनाएको कल्भर्ट तोड्ने प्रयास गरेपछि तनाव बढै गयो,’ सुवेदीले भने, ‘बिहीबार बिहान दर्जनौंपटक हवाई फायर गरे, पारिबाट ताकेर गोली नै हाने ।’
अर्का प्रत्यक्षदर्शी जयबहादुर विकले भारतीय प्रहरीले नै गोली चलाएको बताए । ‘नेपाली पक्षबाट प्रहार भएको ढुंगा पारिपट्टि प्रहरी निरीक्षकको टाउकामा लागेपछि उताबाट गोली चलेको हो,’ उनले भने, ‘अहिले भारतीय पक्षले आफ्ना तर्फबाट गोली नचलेको बताएको छ जो सरासर झूटो हो ।’ घटनापछि नेपाल र भारतका सीमावर्ती अधिकारीबीच भएको पाँचबुँदे सहमतिप्रति स्थानीय आक्रोशित छन् । जिल्लाका प्रशासनिक र सुरक्षा निकाय प्रमुखहरूले घटनाको वास्तविकता बुझ्न नसकेको, समयमै सुरक्षाकर्मी परिचालन नगरेको उनीहरूको गुनासो छ । यसैकारण शुक्रबार दिनभरि पनि आनन्द बजार क्षेत्र तनावग्रस्त रह्यो ।
हालको पुनर्वास क्षेत्र भनेर चिनिने तत्कालीन त्रिभुवनबस्ती, परासन, कालिका र बाइसीबिचवा गाविस जोडेर गत वर्ष नगरपालिका बनेको हो । यहाँका रैथाने रानाथारू समुदाय हुन् । २०२८ पछि देशका विभिन्न भेगबाट बसाइँ सरेर आउने क्रम सुरु भएसँगै पुनर्वास बजार घना हुन पुग्यो । ‘यहाँ भारतका असम, मेघालय अनि भुटान र बर्माजस्ता प्रवासबाट फर्केका नेपालीको पनि बसोवास छ,’ नगरपालिकाका स्थिर घिमिरेले बताए ।

पटकपटक सीमा विवाद
२०६२ साल जेठमा सीमाक्षेत्रमा रहेको राष्ट्रिय मावि परिसरमा भारतले स्तम्भ बनाएपछि ठूलो आन्दोलन चर्केको स्थानीय दीपेन्द्र बस्नेत बताउँछन् । ‘स्थानीय बासिन्दासँगै जिल्ला सदरमुकामबाट ठूलो संख्यामा आएका अगुवाको पहलमा त्यो स्तम्भ भत्काइएको हो,’ उनले भने, ‘हामी भारतलाई कुनै हालतमा सीमा अतिक्रमण गर्न नदिन दृढ छौं ।’ विगतको सीमांकनका बखत नेपाली अधिकारीको गैरजिम्मेवारीका कारण भूभाग भारततर्फ गाभ्ने काम भएको स्थानीयको आरोप छ । नेपाली पक्षले आफूहरूसँग सम्पर्क र सोधपुछ नगरी भारतको पलियामा बसेर सीमाका कागजपत्र तयार गरेको उनीहरू बताउँछन् । ‘अब सीमांकन गर्दा पुरानो सीमास्तम्भ आधार मानेर नयाँ नक्सा तयार गरिनुपर्छ,’ घिमिरेले भने, ‘भारतले मिचेको भाग फिर्ता नभए विवाद समाधान हुने देखिँदैन ।’
यातायात र बजार बन्द
महेन्द्रनगर – भारतीय प्रहरीले नेपाली भूमि प्रवेश गरी गोली चलाएको विरोधमा शुक्रबार सुदूरपश्चिम बन्द भएको छ । सात नं प्रदेशका अधिकांश क्षेत्रमा दिनभर प्रदर्शन गरियो । शुक्रबार बिहानैदेखि कैलालीको त्रिनगर भन्सारमा सयौं युवा विरोधमा उत्रिए । प्रदर्शनका क्रममा नाकामा रहेको भन्सार ब्यारियरमा क्षति पुगेको छ । घटनास्थल कञ्चनपुरको पुनर्वास क्षेत्रका बेलौरी, त्रिभुवन बस्ती, आईबीआरडी, आनन्द बजार बन्द गरिए । सदरमुकाम महेन्द्रनगरमा यातायात, बजार, कार्यालय, विद्यालय ठप्प हुन पुगे । दक्षिणी क्षेत्रका केही बजारमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् ।
कैलाली सदरमुकाम धनगढीसँगै जिल्लाका सबैजसो सानाठूला बजार क्षेत्र र राजमार्गमा रहेका बजार बन्द गराइए । घटनाको विरोधमा डडेलधुरा र बैतडीमा पनि प्रदर्शन भयो । यी जिल्लाका सदरमुकाममा बिहानैदेखि प्रदर्शन सुरु भएको थियो । दार्चुलामा पनि घटनालाई लिएर सीमानाकामा निकै कडाइ गरिएको थियो । कैलाली, कञ्चनपुर का सीमानाकाबाट ओहोरदोहोर निकै घटेको थियो ।
कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा शुक्रबार साँझ प्रदर्शन र तनाव जारी थियो । प्रहरीले सर्वसाधारणलाई तितरबितर गर्न अश्रुग्यास प्रयोग गरेको थियो । आनन्द बजार क्षेत्रमा जम्मा भएका सयौं प्रदर्शनकारीलाई तितरबितर गरेपछि स्थिति केही साम्य भएको प्रहरीले जनाएको छ ।
सीमा अधिकारीबीच बैठक
घटनाले उग्र रूप लिन थालेपछि दुवै देशका सीमा क्षेत्रका अधिकारीले संयुक्त बैठक गरेका छन् । बैठकमा दुवैतर्फका जनतालाई संयम अपनाउन र तनाव कम गर्न आवश्यक पहल गर्ने सहमति भएको छ । कैलालीका प्रजिअ गोविन्द रिजालले घटनाका विषयमा छानबिन गर्न आवश्यक सहयोगबारे छलफल भएको बताए । समस्या समाधानका लागि स्थानीय तहबाट सबै प्रयास गर्ने र केन्द्रीय स्तरबाट हुन सक्ने प्रयासका लागि आफ्ना सरकारलाई रिपोर्टिङ गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
बैठकमा भारतीय अधिकारीले आफ्ना तर्फबाट गोली नचलेको दाबी गरेका छन् । बिहीबार कञ्चनपुर र भारत, लखिमपुर जिल्लाका अधिकारीबीच भएको सम्झौताअनुरूप निष्पक्ष छानबिन गर्ने विषयमा पुन: भारतीय पक्षले सहमति जनाएको छ । बैठकमा नेपालका तर्फबाट प्रजिअ रिजालका साथै प्रहरी उपरीक्षक अर्जुन चन्द, सीमा सुरक्षा बल कलालीका प्रमुख गणेश संग्रौला, राष्ट्रिय अनुसन्धानका उपरीक्षक योगन्द्र केसीको सहभागिता थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij