आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वितेका २४ घण्टा विभिन्न घटनामा सोह्रको मृत्यू

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • काठमाडौँ । बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

    काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, रौतहट, धनुषा र नवलपरासीमा सवारी दुर्घटना, कपिलवस्तुमा आगलागी, कैलालीमा पर्खालले पुरेर, भक्तपुरमा इनारमा डुबेर तथा कास्कीमा हृदयाघातबाट एक जना इजरायली नागरिकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका पनौती नगरपालिका–२ स्थित ढलेश्वर क्रसर उद्योगमा काम गर्ने सोही नगरपालिका गोकुले–४ का २६ वर्षीय सोमबहादुर घलानको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी, बाजुरा गुदुखाटी–४ बस्ने ६० वर्षीय नाथ चदारालाई उनकै छोरा २३ वर्षीय लोकेश चदाराले आज बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

    रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित वीरेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा ४० वर्षीय पैदलयात्री लालु मन्सुरी, धनुषाको मिथिला नगरपालिका–९ महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही, भद्रपुर–४ का ३५ वर्षीय किसुनदेव राय, नवलपरासीको गैँडाकोट नगरपालिका–१० भेंडाबारी मुनाचोकको भित्री सडकमा मोटरसाइकल पल्टँदा सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय पर्शुराम महतोले ज्यान गुमाएका छन् ।

    कपिलवस्तुको शिवराज नगरपालिका–१ तिनतिरेस्थित दिलमाया रोक्काको गोठमा शनिबार आगलागी हुँदा गोठमा सुतिरहेका उनका छिमेकीको छोरा ११ वर्षीय विक्रम पुन र अर्घाखाँची, सिद्धारा–६ बस्ने १० वर्षीय सन्दिप कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ दुवाकोट बस्ने ४६ वर्षीय राजेन्द्र खड्का सोही ठाउँस्थित इनारमा डुबेर मृत्यु भएको अवस्थामा आज फेला परेको, स्याङ्जाको अर्जुनचौपारी–६ तल्लो खाल्टे बस्ने ६० वर्षीय वीरबहादुर रोक्का सोही ठाउँको झाँक्री खोलामा आज मृत भेटिएका तथा स्याङ्जाकै तिनदोबाटे–४ आमबोट बजारस्थित स्वास्थ्य स्वयम्सेविका भवनको पेटीमा करिब ४५ वर्षका परिचय नखुलेका पुरुष मृत अवस्थामा आज नै भेटिएका छन् ।

    मकवानपुरको आमभञ्ज्याङ–५ भालुखोलास्थित आरजीआई पोल्ट्री फर्ममा काम गर्ने मकवानपुर, गढी–८ बस्ने ४४ वर्षीय सुकराम पाख्रिन र मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२९ नेवारपानी बस्ने २७ वर्षीय कुमार प्रजा तथा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिम इनमा विगत चार महिनादेखि बस्दै आएका इजरायली नागरिक २० वर्षीय इलाड लुपर आज ओछ्यानमै मृत अवस्थामा आज भेटिएका प्रहरीले जनाएको छ ।

    सल्यानको बागचौर नगरपालिका–६ का ५१ वर्षीय डम्बरबहादुर वली, बाग्लुङको बोबाङ–२ खहरेखोलाको भिरमा बोबाङ–३ की ४० वर्षीया डोरमाया पुनमगर, बनेपा नगरपालिका–१० स्थित एलोरेन बस बडी ग्यारेजमा काम गर्ने बारा कलैया नगरपालिका–१० का १८ वर्षीय जितेन्द्र दासलाई बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि शिर मेमोरियल अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको तथा कैलालीको टीकापुर नगरपालिका–९ मा सेफ्टी ट्याङ्की निर्माण गर्ने पर्खाल भत्केर पुरिँदा मुनुवा–५ का ५० वर्षीय रामगुलाम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij