आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सभामुखलाई समेत पत्तो नदिइ दर्जनौं सांसद विदेश भ्रमणमा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३



  • काठमाडौं । सभामुख ओनसरी घर्तीमगरलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै विदेश सयरमा छन् भने केही दर्जन विदेश भ्रमणको तयारीमा छन् ।

    निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् भने तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् ।

    संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् । जापानको इहिमी विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन सभापति घर्ती र सांसद दरैले संसद् सचिवालयबाट भिसा नोट लेखाए पनि सभामुख घर्तीमगरसँग भ्रमण स्वीकृत गराएका थिएनन् ।

    संसद्को महिला, बालबालिका समितिका चार सांसद मंगलबार अमेरिका गएका छन् । सभामुख ओनसरी घर्तीमगरलाई कुनै जानकारी नदिई महिला, बालबालिका समिति सभापति रञ्जु ठाकुर, कांग्रेस सांसदद्वय अतहर कमाल मुसलमान र सरिता प्रसाईं तथा माओवादी केन्द्रकी सांसद अनिता परियार महिला सशक्तिकरणसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका गएका हुन् ।

    यस्तै सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् । नेपालमा पिस फेडरेसन संस्था सञ्चालन गरिरहेका परिवार दलका अध्यक्ष ढकालकै नेतृत्वमा हालैमात्र कांग्रेसका रामहरि खतिवडासहितका सांसद फिलिपिन्स भ्रमण गरेर फर्केका छन् ।

    सभामुख घर्तीमगरले यी दुवै भ्रमणमा को–को सांसद गए र कहिले फर्के भन्नेबारे संसद् सचिवालय र आफूलाई कुनै जानकारी नदिइएको बताएकी छन् ।

    यता विकास समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय समितिका सांसद तथा कर्मचारी पनि यसै साता विदेश भ्रमणको तयारीमा छन् । निर्वाचन आयोगले भने सरकारी स्रोतसाधनको प्रयोग गरेर सांसद र कर्मचारीहरू विदेश भ्रमणमा जानु आचारसंहिताको उल्लंघन भएको बताएको छ ।

    आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘सांसदज्यूहरू निजी भ्रमणमा जान सक्नुहुन्छ तर राज्यको स्रोतसाधन प्रयोग गरेर विदेश भ्रमणमा जान नपाउने व्यवस्था आचारसंहिताले स्पष्ट गरेको छ । आचारसंहिता पालना गराउन आयोग कटिबद्ध छ ।’

    आयोगले बिहीबार मात्रै विज्ञप्ति जारी गरेर आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने स्मरण गराउँदै आचारसंहिता प्रतिकूल आचरण नगर्न सरकार, मन्त्रालय, निकाय, संघसंस्था, राजनीतिक दललगायतको ध्यानाकर्षण गराएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij