प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३
काठमाडौँ । भारतीय सेना प्रमुख जेनर विपिन रावतले चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।
आगामी चैत १५ देखि १८ गतेसम्म उनी नेपालमा रहने छन् ।
गत डिसेम्बरमा भारतीय सेना प्रमुख बनेपछि नेपाल सरकार तथा नेपाली सेनाले उनलाई नेपाल भ्रमणको निम्तो दिएको थियो ।

चिनियाँ रक्षामन्त्री चाङ वानकुवानको नेपाल भ्रमण लगत्तै हुन लागेको भारतीय सेना प्रमुखको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यही वर्ष नेपाल र चिनियाँ सेनाले संयुक्त सैन्य अभ्यास गर्दैछ जसमा भारतले आपत्ति जनाइरहेको छ ।
नेपाली सेनाका प्रवक्ता तारा बहादुर कार्कीले भने, ‘वहाँलाई नेपाली सेनाको मानार्थ पदवी दिने कार्यक्रमका लागि वहाँ आउन लाग्नुभएको हो ।’
राष्ट्रपति विद्यादेवि भण्डारीले उनलाई चैत १६ गते सो पदवीबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सन् १९५० देखि दुई देशको सेनाबीच यस्तो पदवी दिने परम्परा रहेको छ ।
नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँडसँग पनि भेट गर्नेछन् ।
त्यस्तै, बसाईका क्रममा पोखरा र मुक्तिनाथको पनि भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा हेलिकप्टरदेखि सैन्य बन्दोबस्तीको सामाग्री खरिदको विषयमा पनि कुरा हुने बताइएको छ ।
चिनियाँ रक्षामन्त्रीले चैत १० देखि नेपालको भ्रमण गर्दैछन् । चीन र नेपालबीच हुन लागेको सैन्य अभ्यासले नयाँ दिल्ली सशंकित बनेको छ । काठमाडौँ र बेइजिङले रक्षा र सैन्य साझेदारी तर्फअघि बढेकोमा दिल्लीको चाँसो रहेको छ ।
रक्षामन्त्रीसँग भेटेपछि प्रधानमन्त्री दाहाल चैत ११ गते औपचारिक भ्रमणका लागि चीन जाँदैछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij