प्रकाशित मिति : आइतवार, चैत्र १३, २०७३
सरकारले ६ वर्ष अघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागि निधन भएका मोरङका बासुदेव साहको परिवारलाई पनि सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ६ वर्षअघि भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट निधन भएका मोरङ अमारीबरियातीका बासुदेव साहको परिवारलाई पनि १० लाख राहत उपलब्ध गराउने घोषणा गरेको हो ।
आईताबार बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालयमार्फत बासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिएका हुन् । पीडित परिवारले पनि क्षतिपूर्तिको व्यवस्था गर्न केही हप्ता अघि स्थानीय प्रशासन मार्फत गृह मन्त्रालयसँग लिखित आग्रह गरेको थियो । गृह मन्त्रालयले सकेसम्म सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको पनि जनाएको छ ।
उपप्रधानमन्त्री निधिले सरकारले सबै पीडितलाई न्याय दिनेगरी कार्ययोजना बनाएर काम अघि बढाएको पनि स्पष्ट पारे । भारतीय सीमा सुरक्षा बलको गोली लागि साहको २०६७ साल जेठ ११ गते निधन भएको थियो । राज्य व्यवस्था समितिको आजको बैठकले यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij