आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

को हुन् गुण्डा नाईके दावा लामा ? कसरी भए सुटरको शिकार ?

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २९, २०७३



  • काठमाडौँ।  ‘गुण्डा नाईके’ को उपमा पाएका दावा लामा हरेक दिन बौद्ध नयाँबस्थिमा रहेको दिब्य पार्टी प्यालेसमा जिम गर्न जान्थे । स्विमिङ पुल र जिम हल समेत भएको पार्टी प्यालेस नयाँ बस्ती क्षेत्रकै राम्रो पार्टी प्यालेस हो, त्यसैले दावाले सो ठाउँलाई आफ्नो जक्सन बनाए ।

    बाग्मती किनारमै रहेको पार्टी प्यालेसमा मंलगबार बिहान दावा पुग्दा ९ बजेर २० मिनेट मात्रै गएको थियो । पार्टी प्यालेसको अघिल्तिर वाल लगाएर बनाएको पार्किङ स्थलमा गाडी अड्याएर दावा जिमखाना तिर जान लाग्दा उनलाई केही गाईहरुले डिस्टर्व गरे । एउटा बालकले गाईहरु धपाउँदै थिए दावा गाईहरु भन्दा अगाडी बढ्दै पार्किङको गेटबाट निस्किए । हाफ पाइन्ट लगाएर दायाँ काँधमा कपडाको झोला भिरेका लामा दिब्य पार्टी प्यालेसको गेटबाट भित्र छिर्नमात्रै के खोजेका थिए, पछाडीबाट आएको गोली उनको खुट्टामा लाग्यो । भाग्न खोज्दै थिए, तर ढलिहाले । त्यसपछी भटाभट आएको दुई गोली मध्येको एउटा गोली उनको कोखामा लाग्यो ।


    ‘त्यो दाईको एउटा खुट्टा पार्टी प्यालेसको गेट बाहिर अर्को भित्र थियो त्यतिवेलै गोली चलिहाल्यो’ पार्किङ एरियाको टहरोमा बस्दै आएकी प्रत्यक्षदर्शी सीता भुजेलले भनिन्, ‘कालो क्याप र हाफ पाईन्ट लगाएको मान्छे गोली हानेर हतार–हतार बौद्धतिर भागेको हामीले देख्यौं ।’

    पार्किङ स्थलसँगैको अर्को बाटोबाट आएका सुटर दावालाई तीन गोली हानेर भागेको सिसीटिभी फुटेजमा देखिएको छ ।

     

    गोली लाग्नासाथ जीम गर्दै गरेको उनका साथीहरु तल आए अनि दावालाई सोफामा लगेर राखे । सोफामा रगत लत्पतिएको छ । केही छिनमै उनलाई ट्याक्सीमा राखेर नेपाल मेडिकल कलेज अत्तरखेल (जोरपाटी) लगियो । अहिले उनको उपचार भइरहेको छ । पार्किङ एरियामा रहेको दावाको गाडी प्रहरीले अनुसन्धानका लागी टेकुमा लगेर राखेको छ ।

    गोली कसले हान्यो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले बताए । काठमाडौं प्रहरी र अपराध महाशाखाको प्रहरी टोली गोली काण्डबारे अनुसन्धानमा जुटेको छ ।

    लामो समयदेखी दिब्य पार्टी प्यालेसकै जिमखानामा जाने दावा करिब दुई साता हराएका थिए । प्रहरीले १६१ गुण्डाको सूची बनाउँदा आफ्नो नाम ‘क’ श्रेणीको गुण्डाको सूचीमा रहेको खुलेपछी नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बनाउन उनी काभ्रेतिर लागेका थिए ।

    दुई साता काभ्रे बसेर केही दिनअघि मात्रै काठमाडौं आएका दावा क्लव जान थालेको धेरै दिन भएको थिएन । हरेक दिन प्रविण नामका सहयोगी लिएर जाने दावा मंगलबार भने एक्लै ड्राईभिङ गरेर जिमखाना पुगेका थिए ।

    को हुन् दावा ?

    २०६० को दशकमा दावा लामा ठमेलको रोयल किचनमा काम गर्थे । त्यतिवेला रोयल किचन काजी शेर्पाको स्वामित्वमा थियो ।

    दावा रोयल किचनको बाउन्सर हुँदा ठमेलमा मनाङ्गे र चक्रे मिलनको झगडा शुरु भैसकेको थियो । उनी मनाङ्गे समुहतिर लागे, जहाँ दिपक मनाङ्गेको दायाँ–बायाँ थिए गणेश लामा र विष्णु लामा । काभ्रेलीको नाताले दावाको संगत गणेश र विष्णुसँग बाक्लियो ।

    दिपक मनाङ्गेको निर्देशन अनुसार ठमेलतिर पैसा उठाउने दावाले पछि मनाङ्गेलाई पनि छाडिदीए । काजीलाई गोली हानेको केसमा मनाङ्गे जेल परेपछि गणेश लामाले काभ्रेलीहरुको छुट्टै समुह बनाए । दावा त्यही समुहमा लागे र गणेश लामाको मुख्य सहयोगीको भूमिकामा रहे ।

    काभ्रेली समुहमा हरेर ठमेल, दरबारमार्ग, मैतिदेवी लागयतका स्थानमा हप्ता असुली कार्यमा संलग्न लामा पैसा नदिनेलाई खुकुरी हान्न माहिर थिए ।

    ०६२÷६३ मा तातोपानी नाका हुँदै रक्तचन्दन ओसापसार गर्ने समुहको विगविगी थियो । ठीक त्यही समयमा काभ्रेको दोलालघाट नजिकै पदम थापा लगायतका तीन जना रक्तचन्दन कारोवारीहरु गाडीमै जलेको अवस्थामा भेटिएका थिए । यसमा दावासमेत संलग्न रहेको हुनसक्ने उच्च प्रहरी अधिकृतको भनाई छ । यो प्रकरणमा दावा संलग्न रहेको आशंकामा प्रहरीले लामो समय अनुसन्धान गरेको थियो ।

    त्यतिवेला अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृत भन्छन्, ‘पदम थापाहरुको साथमा करिब ४० करोड पैसा रहेको र त्यो पैसा दावाको समुहले लुटेको आशंकामा हामीले लामो अनुसन्धान गर्यौं तर खास प्रमाण भेटिएन ।’ सोही घटनापछि दावाको आर्थिक हैसियत अचानक आकाशिएको थियो । हाल राजधानीमा दावाको पाँचवटा घर रहेको उनी निकट स्रोतको भनाई छ ।

    ०७० मा ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई खुकुरी हानेका लामाले सोही बर्ष टेकुका सुनिल अग्रवालको अपहरण गरी करिब ५५ लाखको चेक लगेका थिए ।

    काठमाडौं उपत्यकाको गुण्डागर्दीमा कहलीएका दावा लागु औषध ओसापसार मुद्दामा डिल्लीबजार कारागारमा बस्दा खुमबहादुर खड्का बसेको कोठामा बसेका थिए ।

    काभ्रेको सल्ले गाविस–२ स्थायी घर भएका दावाको बास्तविक नाम जितेन्द्र तामाङ हो । दावा लामाको नामबाट राजधानीमा गुण्डागर्दी शुरु गरेका उनी ‘क’ श्रेणीको गुण्डा हुन् । राजनितीको आडमा गुण्डागर्दीमा चम्किएका दावालाई काभ्रे–१ बाट निर्वाचित सांसद तिर्थ लामाले संरक्षण गर्ने गरेका थिए । पछिल्लो समय दावा र राम गिरीको समुह बीच दरबारमार्गको क्लव डेजावुमा झगडा गरेर पक्राउ पर्दा उनलाई छुटाउन काङ्ग्रेसका सांसद तिर्थ लामाले काठमाडौंको एसएसपी छविलाल जोशीलाई दवाव दिएका थिए ।

    ०७१ भदौ पहिलो साता जोरपाटीबाट खैरो हिरोईनसहीत समातिएका दावा करिब १५ महिना जेल बसेर छुटेका थिए ।

    राम गिरीलाई कुट्नेदेखी राजनलाई खुकुरी हान्नेसम्म !

    दुई महिनाअघि ठिक आजकै दिन दावा लामा दरबारमार्गबाट पक्राउ परेका थिए । क्लव डेजावुका संचालक अर्का गुण्डा नाईको राम गिरीलाई मध्यराती कुटपिट गरेको भन्दै दरबारमार्ग प्रहरीले पक्राउ गरेर उनलाई ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गरेको थियो । त्यतिवेला उनलाई छुटाउन सांसद तिर्थ लामाले तारन्तार दबाव दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशिले तिर्थलाई सान्तवना दिनकै लागी राम गिरीलाई समेत पक्राउ गरेर सार्वजनिक अपराधको मुद्धा दर्ता गरेर केही दिन हिरासतमा राखिदिएका थिए ।

    मंगलबार उनीमाथी गोली चल्नुमा राम गिरीको समेत हात भएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ । गिरी क्लव डेजावु तथा दरबारमार्गमा रहेको भिक्टोरी डिस्कोका संचालक हुन् ।

    त्यस्तै २०७१ सालमा दावाले ललितपुरका निर्माण ब्यवसायी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए । श्रेष्ठलाई खुकुरी हानेपछि ज्यानमार्ने उद्योगमा पक्राउ परेका लामा केही समयपछी फेरी बौद्धबाट खैरो हिरोइनसहित पक्राउ परेका थिए ।

    खैरो हिरोईन मुद्दामा सफाई पाएर छुटेसँगै उनले काभ्रेको तिमाल क्षेत्रको बुद्धचित्तमालामा एकछत्र राज गर्नुका साथै बौद्ध क्षेत्रका जुवा अड्डा सञ्चालन गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij