प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४
काठमाडौँ । विनाशकारी भूकम्प गएको दूई बर्ष बितिसक्दा पनि विद्यालय पुनर्निर्माणले गति लिन सकेको छैन् ।
भूकम्पका कारण झन्डै ८ हजार विद्यालय भत्किएपनि यतिबेलासम्म ११ सय ४१ वटा विद्यालय मात्र निर्माण भएका छन् । झन्डै ६ हजार भन्दा बढी विद्यालयले अझै अस्थायी संरचनामा पठनपाठन चलाइएरहेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७ हजार ९ सय २३ विद्यालय निर्माण गर्ने लक्ष्य लिएको छ । यसमध्ये जापानी स्वयंसेवी संस्था जाइकाको सहयोगमा ६ जिल्लामा २ सय ८३ विद्यालय निर्माण हुने सम्झौता भएको छ । जाईकाले ८३ वटा विद्यालय पुनर्निर्माण गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यस्तै एशियाली विकास बैंकको सहयोगमा ८ जिल्लामा १ सय ६० विद्यालय पुनर्निर्माण गर्ने संम्झौता भएको छ । एडिबीले ४७ वटा विद्यालय निर्माण गरिरहेको छ । यस्तै विभिन्न आइएनजिओ तथा एनजिओहरुले १२ सय ५० विद्यालय पुनर्निर्माण गर्ने सम्झौता गरेकोमा हालसम्म ३ सय २५ विद्यालय निर्माण सम्पन्न गरिसकेका छन् भने ९ सय २५ विद्यालय निर्माण भइरहेका छन् ।
यस्तै १७ जिल्लामा विद्यालय व्यवस्थापन समितिहरुबाट ८ सय १६ विद्यालय निर्माण सम्पन्न भएका छन् । प्राधिकरणको पछिल्लो आँकडा अनुसार यतिबेलासम्म १ हजार १ सय ४१ विद्यालय पुनर्निमाण सम्पन्न भएका छन् भने १ हजार ९५ विद्यालय निर्माणका क्रममा रहेका छन् ।
विद्यालय पुनर्निर्माणका लागि १ खरब २४ अरब बजेट परिचालन गरिएको छ तर २ बर्षमा १० प्रतिशत मात्र काम भएको छ । पुनर्निर्माणको कामले गति लिन नसक्दा ९० प्रतिशत विद्यालय अस्थायी संरचनाबाट काम चलाईरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij