प्रकाशित मिति : बुधबार, बैशाख १३, २०७४
काठमाडौ। व्यवस्थापिका संसदको विकास समितिले सरकारी निकाय कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ ।
समितिको बुधबार बसेको बैठकले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै दिइएका निर्देशन पालनामा समेत सरकारी निकाय असक्षम भएको निष्कर्ष निकालेको हो । समितिले दिएका निर्देशन पालना गर्न सरकार कमजोर देखिएको समितिका सभापति रविन्द्र अधिकारीेले बैठकपछि बताए ।
समितिले अझै सशक्त भूमिका निर्वाह गरी सरकारलाई देश र जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ ।
समितिले सबै जिल्ला सडक संजाल विस्तारको कामलाई प्राथमिकता दिने योजना पनि बनाएको छ । त्यसैगरी समितिले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न अनुगमनको कामलाई प्रभावकारी ढंगले अघि बढाउने योजना पनि तयार पारेको छ ।
हुलाकी राजमार्ग, निजगढ–काठमाडौं दू्रतमार्ग, उत्तर– दक्षिण राजमार्ग, कर्णाली राजमार्ग निर्माणको कामलाई छिटो सम्पन्न गर्ने गरी सरकारलाई निरन्तर सचेत गराउने पनि समितिको तयारी छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी, बुढिगण्डकी जल विद्युत आयोजना लगायतका जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन भूमिका निर्वाह गर्ने योजना पनि तय गरिएको समितिका सभापति अधिकारीले स्पष्ट पारे । समितिले सूचना प्रविधिको विकासलाई देशभर विस्तार गर्न पनि सरकारलाई आवश्यक निर्देशन दिने नीति लिएको छ ।
समितिले स्थानीय तहमा सुशासन कायम गर्न पनि उल्लेख्य भूमिका निर्वाह गर्ने योजना अघि सारेको छ । बैठकमा समितिका सदस्यहरुले दिइएका निर्देशन समेत पालना नगरेर सरकारले संसदीय समितिको मर्यादासमेत नराखेको बताएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij