प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
महाअभियोगबारे कुराकानी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहानै आफ्ना दूतलाई प्रधानन्यायाधीश सुशीला कार्कीसँग भेट्न पठाएका थिए।
प्रधानमन्त्रीको सन्देश लिएर आएका माओवादी नेता वर्षमान पुनलाई प्रधानन्यायाधीश कार्कीले भेट्न मानिनन्। पुनले आफू आउनुको प्रयोजन कार्कीका श्रीमान दुर्गा सुवेदीलाई सुनाए।
‘कांग्रेसबाट प्रधानन्यायाधीशज्यूमाथि महाअभियोग लगाउनुपर्यो भनेर दबाब आइरहेको छ, यसबारे प्रधानमन्त्रीज्यूले एकचोटि उहाँसँगै भेटेर कुरा गर्न खोज्नुभएको छ,’ पुनले प्रधानमन्त्रीको सन्देश सुनाउँदै भने, ‘उहाँलाई एकचोटि बालुवाटारमा प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ।’
बालुवाटारमा प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासलाई एउटा पर्खालले मात्र छुट्टयाउँछ। पछाडिको गेटबाटै आउजाउ गर्न मिल्छ।
सुवेदीले पुनले ल्याएको सन्देश कार्कीलाई सुनाए। महाअभियोगको विषयमा कुराकानी गर्ने प्रधानमन्त्रीको सन्देश थाहा पाएपछि पनि कार्कीले पुनसँग भेट्न मानिनन्। उनले आफू त्यस विषयमा कुराकानी गर्न इच्छुक नरहेको भन्दै पुनलाई भेट्दै नभेटी फिर्ता पठाइदिइन्।
अपराह्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भयो।
‘म यो आरोपको सामना गर्नेछु,’ आइतबार साँझ सेतोपाटीसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले भनिन्।
सेतोपाटीबाट साभार ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij