आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बहसमा नआउने र हितविपरीत काम गर्ने वकिलमाथि कारबाही

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • काठमाडौं । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ । वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव नियमावलीमा छ । मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ । मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समयसमेत माग्ने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै बहसमा उपस्थित नहुने कानुन व्यवसायीलाई रजिस्ट्रारले जाँचबुझ गरी कारबाही प्रस्ताव गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । उमेरहदका कारण अवकाश पाउनुभन्दा एक साताअघि प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनमा यस्तो कानुनको मस्यौदा भएको हो ।

    नियमावली मस्यौदाको नियम १४० मा कुनै कानुन व्यवसायीउपर उजुरी परे कारबाहीका लागि कानुन व्यवसायी परिषद्मा लेखी पठाउने व्यवस्था छ । ‘कुनै कानुन व्यवसायीले वकालतनामा दिएर पनि मुद्दा सुनुवाइ हुँदा इजलासमा अनुपस्थित भएको वा पक्षको हितविपरीत कुनै काम गरेको उजुरी कसैले दिए रजिस्ट्रारले सो उजुरीउपर आवश्यक जाँचबुझ गरी निवेदनको व्यहोरा मनासिव देखेमा आवश्यक कारबाहीका लागि नेपाल कानुन व्यवसायी परिषद्समक्ष पठाइदिनुपर्ने छ’, मस्यौदामा लेखिएको छ ।

    कारबाहीको प्रस्ताव गर्नुअघि बहसमा उपस्थित नहुने वकिललाई सुनुवाइको मौका भने दिइने व्यवस्था छ । मुद्दा सुनुवाइमा इजलासमा उपस्थित नहुने कानुन व्यवसायीको नाम फैसलामै उल्लेख गरी अदालतमा निजको अभिलेख राखिने व्यवस्थासमेत मस्यौदामा छ । मस्यौदाको यो व्यवस्था आईजीपी प्रकरणमा नवराज सिलवालद्वारा दायर रिटमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलगायत विपक्षीका कानुन व्यवसायीले बहस बहिष्कार गरेकोलगायत प्रकरण दृष्टिगत गर्दै तय गरिएको आशंका गरी मस्यौदाको व्यवस्था लागू भए जोसुकै पनि फस्न सक्ने कानुन व्यवसायीले औंल्याएका छन् ।

    यही विषयबारे बुधबार नेपाल बारले वरिष्ठ अधिवक्ता, बारका पूर्वअध्यक्ष एवं कानुनविद् र सल्लाहकारसँग राय परामर्श लिएको थियो । उनीहरूको सुझावअनुसार बार अध्यक्ष शेरबहादुर केसी संयोजक रहेको वरिष्ठ अधिवक्ता संलग्न अध्ययन समिति गठन गरिएको छ । ‘नियमावलीमा धेरै त्रुटि देखिएको छ । बार काउन्सिलले गर्ने काम पनि सर्वोच्चका रजिस्ट्रारले गर्ने भनिएको छ । यो आपत्तिजनक छ’, छलफलपछि बार अध्यक्ष केसीले भन्नुभयो, ‘१५ दिनको समय मागेर बिहीबारै सर्वोच्चलाई पत्र पठाइनेछ ।’

    कुनै पक्षबाट कानुन व्यवसायीले बहस पैरवी गरेको अवस्थामा त्यस्तो पक्षले फैसलाको जानकारी नपाएको दाबी पछि गर्न नपाउने गरी कडाइ गरिएको छ । सल्लाहकार बैठकमा सहभागी नेपाल बारका पूर्वउपाध्यक्ष मुकुन्द पौडेलले रजिस्ट्रारले कारबाहीका लागि आफैं उजुरी छानबिन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको बताउनुभयो । ‘कानुन व्यवसायीको उजुरी सर्वोच्चले लिने होइन, बार काउन्सिलले हो । झन् वरिष्ठ अधिवक्ताको समेत जाँचबुझ गर्ने काम हचुवा मात्र होइन, संविधानको मर्म, भावना र पेसागत आदर्शको ठाडो बर्खिलापमा छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij