आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय पत्रकार भन्छन् : पोखरा सुन्दर छ तर सडकहरु कुरुप

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४



  • अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् ।

    प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताए ।

    नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका तथा अव्यवस्थित सडकको यात्रा गर्नुपर्दा निकै दुःख झेल्नु परेको वास्तविकतालाई आत्मसात् गरी सडक पूर्वाधारलाई व्यवस्थित गर्नुपर्नेमा दिल्लीस्थित मिलेनियम पोस्टका कन्सल्टिङ एडिटरसमेत रहेका अध्यक्ष गौतम लहिरीले जोड दिए ।

    “नेपालले सडकका साथै सबै पर्यटकीय पूर्वाधार व्यवस्थित र सुदृढ गर्न सकेमा स्थल मार्गबाट समेत धेरैभन्दा धेरै पर्यटक नेपाल र पोखरा आउँछन्,” उनले भने ।

    दिल्लीस्थित ‘आनन्दबजार’ पत्रिकाका सहायक सम्पादक अग्नि रोयले नेपालको अव्यवस्थित सडकलाई तत्काल सुधार गर्नुपर्ने धारणा राखे ।

    काठमाडौँ आएका पर्यटक पोखरा पुग्न एउटै मात्र पृथ्वी राजमार्ग रहेको र अन्य वैकल्पिक छोटो मार्ग नहुँदा नेपालप्रति पर्यटकको धारणा नकारात्मक हुन सक्नेतर्फ सबै सरोकारवाला गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

    इन्डोएसियन न्यूज सर्भिसका वरिष्ठ सहायक सम्पादक प्रशान्त सुदले पोखराको सुन्दरताबाट आफूहरू निकै प्रभावित भएको बताउँदै पर्यटनका लागि चाहिने आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका लागि नेपाल सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले पटक पटकका बन्द र हडताल, भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिङ्गो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्रसमेत प्रभावित भएपनि अहिले यो सुधारका क्रममा रहेको जानकारी दिए ।

    विगतमा सङ्घले ‘चलिए पोखरा’ अभियानका साथ भारतका विभिन्न सहरमा प्रवद्र्धनका लागि पुगेको स्मरण गराउँदै उनले त्यस्तो अभियान पुनः छिट्टै बोर्डर टाउन सेल्स मिसनअन्तर्गत सञ्चालन गरिने जानकारी दिए ।

    नेपाल आउने वार्षिक आठलाख पर्यटकमध्ये एक तिहाइ भारतीयको सङ्ख्या रहने गरेको जानकारी दिँदै उनले क्रिकेटलगायत भारतीयले मन पराउने खेलबाट समेत नेपालमा भारतीय पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।

    सङ्घका सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र निकै संवेदनशील भएको र पोखरासहित समग्र नेपालमा पूर्वाधार निर्माणका लागि आफूहरूले सरकारलाई घच्घच्याइरहेको जानकारी दिँदै मुिक्तनाथ र पशुपतिनाथजस्ता धाम भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्य भएको स्मरण गराए ।

    सङ्घका महासचिव गणेशराज पहारीले पोखरा भारतीय पर्यटकका लागि गर्मी छल्न उपयुक्त स्थल भएको बताउँदै पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र तत्पश्चात् सिधा उडानमार्फत भारतीय पर्यटक नेपाल आउनसक्ने विश्वास व्यक्त गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij