आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४



  • हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो ।

    हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराहक्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान गरिरहेकाले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले बताए ।

    प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सँुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो ।

    सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट बर्सेनि मास्तिरको जमिन कटान गरिरहेकाले यो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आएको छ । दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब पाँच छ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै अाएका छन् ।

    दुई वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बराहक्षेत्र मन्दिर रहेको पहाडलाई थिलथिलो बनाइदिएका कारण पनि माथिबाट पहिरो खस्ने जोखिमसमेत बढेको पं योगेश भण्डारीको भनाइ रहेको छ । उनका अनुसार तलतिरबाट सप्तकोसीको कटान र माथिल्लो भागबाट आउने पहिरोका कारण बराहक्षेत्र तीर्थस्थल अति संवेदनशील स्थानमा परिणत हुँदै गएकोले राज्यले ध्यान दिनुपर्नेतर्फ पनि भण्डारीले चिन्ता व्यक्त गरेका छन् ।

    बराहक्षेत्र जोखिमको उच्च चपेटामा परिरहेको सन्दर्भमा बृहत्तर बराहक्षेत्र विकास समितिले आयोजना गरेको ‘भावी योजना’ विषयक अन्तक्र्रियामा सहभागीले पूर्वको पवित्र धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रको संरक्षणमा सरकारी तदारुकताको खाँचो औँल्याइएको छ । समितिका संयोजक गोविन्द कार्कीले सप्तकोसी नदीका कारण मन्दिर बस्तीसमेत जोखिममा परेकाले संरक्षणमा सरकारी निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

    सोही विषयमा स्थानीय विकास अधिकारी एवम् हाल जिल्ला समन्वय समितिका प्रमुख तुलसीप्रसाद श्रेष्ठले पनि कोका र कोसीले निरन्तर धक्का दिइरहेका कारण मन्दिर जोखिममा रहेको पाइएकाले त्यसको दीर्घकालीन संरक्षण र संवद्र्धनमा सबैको यतिबेलै ध्यान जानु जरुरी देखिएको हो भने ।

    त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले पनि सप्तकोसी नदीले बराहक्षेत्र मन्दिर रहेको जमिन कटान नियन्त्रणका लागि अन्य निकायसँग समन्वयन गरी काम गर्न पहल गर्ने आवश्यकता देखिएको कुरामा जोड दिए ।
    नेपाल र भारतलगायतका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको पावन भूमि बराहक्षेत्रका प्राचीन एवम् पौराणिक महत्वलाई बचाइ राख्नका लागि अहिले नै राज्य वा सम्बन्धित निकायले ध्यान नदिने हो भने भविष्यमा यसले ठूलो क्षति ब्यहोर्नुपर्ने टड्कारो समस्या अहिले नै सिर्जित भइसकेको पाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij