आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसै वर्षदेखि आधारभूत काम शुरु हुँदै-कर्णाली हाइड्रोपावर

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०७४



  • कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर्ने भएको छ । कोषले तोकिएकै समयभित्र आयोजना निर्माण गर्न प्रारम्भिक कार्य छिट्टै शुरु गर्न लागिएको बताएको छ । ६ सय ८० मेगावाट क्षमताको बेतान कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न कुनै समस्या नरहेको कोषका प्रशासक कृष्णप्रसाद आचार्य बताउँछन् । ‘नेपालमै पहिलो पटक सञ्चयकर्ताको रगत, पसिनाको कमाईबाट निर्माण गर्न लागिएको ‘बेतान कर्णाली जलविद्युत आयोजना’ क्षेत्रीय विकासको सन्तुलनका लागि एउटा नमूना हो,’ शनिवार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै आचार्यले भने, ‘नेपालको पानी जनताको लगानी भन्ने नारालाई यो आयोजनाले सार्थक गर्न लागेको छ ।’ उनले नेपालको दिगो आर्थिक विकासका लागि क्षेत्रीय सन्तुलन अपरिहार्य रहेको जिकिर गरे ।

    विशुद्ध नेपालकै प्राविधिक र लगानीबाट बन्न लागेको बेतान कर्णाली आयोजना ६ नम्वर प्रदेशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास थियो । उनका अनुसार पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण शुरु गर्ने तयारी गरिएको छ । ‘स्वदेशी लगानीमा अगाडि बढिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो दोस्रो ठूलो आयोजना हो,’ उनले भने, ‘नेपाली प्रविधि प्रयोग गरेर निर्माण गर्न लागिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका सञ्चयकर्ताको लगानी हुनेछ ।’ उनका अनुसार कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिई जलविद्युत् आयोजनामा लगानी गर्ने योजनाअनुसार उक्त आयोजना निर्माण गर्न लागेको हो ।

    कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण र नेपाल विद्युत उत्पादन कम्पनीद्वारा निर्माण गर्न लागिएको उक्त आयोजनाका लागि ८० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ‘बेतान कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र सरकारले यस अघि नै प्रदान गरिसकेको छ । कर्मचारीको कोष कट्टीबाट आएको रकमबाट जलविद्युत आयोजना निर्माण गर्न लागिएकोप्रति पश्चिम सुर्खेतका स्थानीय बासिन्दा हर्षित भएका छन् । चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ‘सर्वेक्षणका लागि सञ्चय कोषले अनुमति पाएको छ, यो खुसीको कुरा हो,’ अध्यक्ष शाहीले भने, ‘वषौंदेखि बगेर खेर गइरहेको कर्णालीबाट विद्युत् उत्पादन गरेर यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ ।’ पश्चिम सुर्खेतको विकासमा आयोजनाले महत्तवपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो ।

    आयोजनाले सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहनेगरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना अगाडि बढाउने गरी अनुमति दिइएको हो । बेतान कर्णालीबाट विद्युत् उत्पादन गरिनु पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको विषय हो,’ गुटुका लक्ष्मीबहादुर बयकले भने, ‘कोषले तोकिएको समयमा आयोजनाको सर्वेक्षण मात्र होइन, निर्माणका लागि कोष तथा सरकारले पहलकदमी लिनुपर्छ ।’ उनले सर्वेक्षणमै वषौं बिताउनु भन्दा छिटोेभन्दा छिटो काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    आर्थिक वर्ष २०७२÷७३ मा कोषले कमाएको एक अर्ब ६० करोड रुपैयाँ मध्ये पहिलो चरणमा एक अर्ब २९ करोड रुपैयाँ सो आयोजनामा लगानी गरिनेछ । कोषले सञ्चयकर्तालाई मुनाफा प्रदान नगरी जलविद्युत् आयोजना लगानी गर्ने सोचअनुसार नै प्रक्रिया अगाडि बढाइएको छ । आयोजनामा कोषमा सञ्चयकर्तालाई कुल लगानीको ४० प्रतिशत सेयर दिइनेछ भने कोष आफैले १५ प्रतिशत सेयर राख्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई १५ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनीलाई १० प्रतिशत, स्थानीयवासीलाई १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिने गरी कम्पनीको सेयर संरचना तयार गरिएको छ ।

    पहिलो चरणमा २० अर्ब रुपैयाँ अधिकृत पुँजी राखेर कोषले आयोजना अगाडि बढाउनेछ । कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनालाई सहयोग पुग्नेगरी आयोजना अगाडि बढाउने कोषको तयारी छ । प्रारम्भिक रुपमा अध्ययन भइसकेको आयोजनाको प्राविधिक तथा अन्य काम सँगसँगै अगाडि बढाइने भएको छ । कोषसँग हाल दुई खर्ब ५० अर्ब रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij