विगत लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोक मानेगाउँका स्थानीयवासी खानेपानीको धारा गाउँमै बनेपछि खुसी भएका छन् ।
गाउँ नजिकै रहेको पानीको स्रोत ‘गोरखा भूकम्प’ले सुकेपछि डेढ घन्टा टाढाको दूरीमा पुगेर पानी ओसार्दै आएका स्थानीयवासी खानेपानी आयोजना सम्पन्न भई गाउँमै सहज पानी भर्न पाउँदा खुसी छन् ।
आयोजनाबाट ३५ घरधुरीका १९१ जना प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । करिब ३८ सय मिटर टाढाको मुहानबाट पाइपमार्फत गाउँमा खानेपानी ल्याएर पाँचवटा सामुदायिक धारा बनाइएको उपभोक्ता समितिका अध्यक्ष क्षेत्रबहादुर मगरले बताए। आयोजनाको निर्माण गर्न २२ लाख ९४ हजार ५६६ रुपैयाँ लगानी गरिएको हो । गाउँमा खानेपानीको सहज पहुँच नहुँदा मानेगाउँका बासिन्दा बसाइँ सर्न थालेका थिए ।
बेलायती दातृ संस्था डिएफआइडीको आर्थिक सहयोगमा केयर नेपालले गोरखाको एकीकरण नेपालसँगको साझेदारीमा मानेगाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न गरेको हो । आठ महिना अवधिमा आयोजना निर्माण भएको हो । मुहान र गाउँ नजिकै ट्याङ्की बनाएर पाँचवटा धारामार्फत गाउँलेले खानेपानी उपभोग गर्दै आएका छन् । आयोजना निर्माणका लागि छिमेकी गाउँबाट अवरोध भएपनि अन्तिम समयमा गाउँलेलाई खानेपानी उपलब्ध गर्न सबै सहमत भएका थिए ।
आयोजना निर्माणको काममा सक्रिय केयर नेपालका इन्जिनियर हरिकृष्ण आचार्यका अनुसार स्थानीय बासिन्दाको सक्रिय सहयोग र सहभागितामा तोकिएको समयमै आयोजना निर्माणको कार्य सम्पन्न भएको हो ।
उनले भने, “मानेगाउँमा खानेपानीको समस्या रहेको हामीले जानकारी पाएपछि जोखिम मोलेर भएपनि आयोजना पूरा गरिछाड्यौँ ।” खानेपानी आयोजना पूरा भएपछि गाउँलेले फुर्सदको समय सदुपयोग गरी तरकारी खेती गर्ने बताएका छन् । स्थानीय गृहिणी इन्द्रमाया राना मगरले डेढ/दुई घन्टा धाएर पानी ओसार्नुपर्ने बाध्यता अन्त्य भएकोमा गाउँले खुसी भएको जानकारी दिए। 