प्रकाशित मिति : बिहिबार, असार १, २०७४
सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिले जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नगरप्रमुखका तर्फबाट पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले विकास गर्न आफूहरुमा अझै धेरै चुनौती थपिएको बताएका छन्। उनले प्रत्येक वडामा वडा सचिव पठाउन पनि कार्यालय प्रमुख तथा सरकारलाई आग्रह गरेका छन्।
यस्तै, उपप्रमुखका तर्फबाट वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले सुर्खेत जिल्लाको विकासका लागि निश्चित कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले यस क्षेत्रमा खानेपानी, स्वास्थ्य, वन अतिक्रमण लगायतका समस्या र सम्भावना रहेकाले योजना बनाएर जानुपर्नेमा जोड दिइन् । ढकालले सुर्खेतका सुकुम्वासी र बाढी प्रभावितका समस्यामा पनि आफूहरुले ध्यान दिने प्रतिबद्धता जनाएकी छन्।
कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईंले नवनिर्वाचितलाई सफलताको शुभकामना दिँदै सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विपद् व्यवस्थापनको जोखिम बढी भएकाले विपद् व्यवस्थापन समिति तयार गर्न नवनिर्वाचितलाई सुझाव दिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij