बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

  • प्रकाशित मिति : शनिबार, असार ३, २०७४



  • पाल्पाका महिलाले व्यावसायिकरुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

    सधैं घरायसी काममा सीमित रहने यहाँका महिलाले पछिल्लो समयमा आयआर्जनका लागि व्यावसायिक रुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका हुन्।

    पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि यहाँका महिला आर्थिकरुपमा आत्मनिर्भरसमेत बन्दै गएका छन्। आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेपछि उनीहरुले आफ्नै नाममा पशुफार्म दर्ता गराएर व्यवसाय सञ्चालन गर्न थालेका छन्।

    रामपुरकी अगुवा महिला कृषक विष्णुदेवी गैरे गाईफार्म सञ्चालन गरेर नमुना महिला उद्यमीका रुपमा चिनिएकी छन्। दुईवटा गाईबाट पशुपालन व्यवसाय सुरु गरेकी गैरेको फार्ममा अहिले सात वटा होलस्टिन र जर्सी जातका गाई छन्। सात लाखको लगानीमा सुरु गरेको सो गाइफार्मबाट दैनिक ३० लिटर दूध उत्पादन गरी मासिक रु ४० हजार बराबरको आम्दानी लिने गरेको गैरे बताउँछिन् । ‘साँझ बिहान दूध बेचेको पैसाले घर व्यवहार चलाउन सजिलो भएको छ’ उनले भनिन्। आगामी दिनमा गोठको क्षेत्रफल बढाएर ५०÷६० वटासम्म गाई पाल्ने लक्ष्य उनको छ।

    शिक्षण पेसा छाडेर आर्यभन्ज्याङ्की सावित्रा न्यौपानेले पनि कुखुरापालन व्यवसायमा रमाउँदै गरेकीछिन् । दशवर्षसम्म शिक्षण पेसामा आवद्ध रहेकी न्यौपानेले जागिर छाडेर अहिले व्यावसायिक रुपमा कुखुराफार्म व्यवसाय सुरु गरेकी छन्।

    “जागिरबाट सामान्य जिवनयापन गर्न पनि अप्ठ्यारो पर्न थालेपछि कुखुरापालन व्यवसाय सुरु गरेकी हुँ” उनले भनिन्– “सहकारीबाट पाँच लाख ऋण झिकेर व्यवसाय सुरु गरेकी छु ।” आफ्नै नाममा फार्म दर्ता गरेर व्यवसाय चलाएकी न्यौपानेले फार्म निर्माण र चल्ला तथा दाना खरिदमा अहिलेसम्म २० लाख भन्दा बढी लगानी रहेको छ।

    रमा घर्ती पनि गाईफार्म सञ्चालन गरेपछि आफू आत्मनिर्भर बन्दै गएको बताउँछिन्। घर्तीको फार्ममा अहिले १२ वटा माऊ गाई रहेका छन् । नौ लाखको लगानीमा पशुपालन व्यवसाय सुरु गरेकी घर्तीले दैनिक ५० लिटर दूध उत्पादन गरी मासिक ६० हजार आम्दानी गर्ने गरेको बताउँछिन्।

    चेतना र शिक्षाको विकाससंगै महिला आफै सक्रिय भएर आफ्नै नाममा व्यवसाय दर्ता गराउन थालेका हुन्। महिलाको नाममा फार्मदर्ता गर्ने कृषकको सङ्ख्या बढ्दै गएको जिल्ला पशुसेवा कार्यालय पाल्पाले जनाएको छ ।

    कार्यालयका पशु चिकित्सक डा उत्तम आचार्यका अनुसार गाई र भैँसीफार्म १४, बाख्रा फार्म ३, कुखुराफार्म २२ र बङ्गुरफार्म एक गरी जम्मा ४० वटा फार्म महिलाको नाममा दर्ता भएको छ । जिल्लामा गाई र भैँसीफार्म ८७, बाख्राफार्म ७७, कुखुराफार्म १३९ र बङ्गुरफार्म ५३ वटा गरी जम्मा ३५६ वटा व्यावसायिक पशुफार्म सञ्चालनमा रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij