आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीको जिल्लामा विप्लवको डर, सीडीओले मागे रक्सी बिक्री बन्द गर्ने आदेश

  • प्रकाशित मिति : बुधबार, असार ७, २०७४



  • सुदुरपश्चिमको सुरक्षा चुनौतिवारे सिडिओहरुको विफ्रिङ

    धनगढी–‘निर्वाचनको पुर्वसन्ध्यामा मदिराको कारण विवाद र झगडा हुने गरेको छ, उम्मेद्वारहरुले युवालाई मदिरा खुवाउँछन अनि त्यहीँ कारण विवाद हुन्छ, जसलाई हामीले सुरक्षा चुनौतीको रुपमा लिएका छौं’ मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रीलाई ब्रिफिङ गर्दै भने, ‘हजुर, चुनावभर मदिरा नियन्त्रण गर्ने आदेश पाउँ ।’
    बाजुरामा मात्रै हैन, सुदुरपश्चिममाञ्चल क्षेत्रका अन्य केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले चुनावको पुर्वसन्ध्यामा अत्याधिक खपत हुने गरेको मदिरालाई पनि सुरक्षा चुनौतीको रुपमा ब्याख्या गरेका छन् । मदिरालाई सुरक्षा चुनौतीको रुपमा ब्याख्या गर्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘सुरक्षाका कारण असार ८ गतेदेखी हामीले मदिरा विक्री वितरणमा रोक लगाएका छौं ।’
    सुदुरपश्चिमाञ्चलमा पर्ने ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकले मंगलबार गृहमन्त्री, गृह–सचिव, निर्वाचन आयोगका आयुक्त, तथा सुरक्षा निकायका प्रमुखलाई दोस्रो चरणको निर्वाचनमा देखिएका सुरक्षा चुनौती र आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन् । धनगढीमा आयोजित क्षेत्रिय सुरक्षा गाष्ठीमा अधिकांश प्रमुख जिल्ला अधिकारीले विप्लव नेतृत्वको नेकपा (जसलाई सुरक्षा अधिकारीहरुले विप्लव माओवादी भने), राष्ट्रिय जनता पार्टी, आरक्षण पीडित र सुकुम्बासीले समेत निर्वाचन विथोल्न प्रयत्न गर्ने बताए ।
    ‘विप्लवका मान्छे कंचनपुरको केही क्षेत्रमा छन्, मधेशबादी र विखण्डनकारी तथा आरक्षणपीडित र सुकुम्बासीले पनि निर्वाचनमा समस्या पार्नसक्ने देखिन्छ’ कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘थरुहट तराई पार्टीलाई पनि हामीले सुरक्षा चुनौतीका रुपमा लिएका छौं, जिल्लाको दक्षिणी क्षेत्रमा थरुहटको प्रभाव रहेको छ ।’

    भौगोलिक विकटताको कारण सुरक्षा चुनौती हुनसक्ने औंल्याउँदै कैलालीलका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मतदातालाई सरकारले गाडीमा भोट हाल्न जाने ब्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘६ ओटा मतदान केन्द्रमा भोट हाल्नका लागि ६ घण्टा पैदल हिँडेर जानुपर्ने अवस्था छ, मतदातालाई गाडीबाट लाने ल्याउने गर्ने कि ?’ प्रजिअ रिजालले भने, ‘थरुहट थारुवान र अखण्ड सुदुरपश्चिम पक्षधर समुहको अवशेस केही बाँकी छ, उनीहरु अहिले जुर्मुराउन थालेका छन् ।
    प्रधानमन्त्रीको जिल्लामा विप्लवको डर !
    प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेधुराका प्रमुख जिल्ला अधिकारी जनक भट्टले विप्लव माओवादीले निर्वाचन विथोल्न सक्ने बताएका छन् । ‘डडेलधुरामा विप्लवको उपस्थिती देखिएको छ’ प्रजिअ भट्टले भने, ‘विप्लवका कार्यकर्ताको डाटा लिएर निगरानी गरिरहेका छौं ।’
    निर्वाचन अवधिमा डडेलधुरामा विप्लवले भूमिगत गतिविधी गरेर निर्वाचन विथोल्न सक्ने भन्दै उच्च निगरानी गरिएको प्रजिअ भट्टले बताएका छन् ।
    डडेलधुरा मात्रै नभएर सुदुरपश्चिमका अधिकांश जिल्लाका प्रजिअहरुले विप्लव पार्टीलार्ई मुख्य सुरक्षा चुनौतीको रुपमा औंल्याएका छन् । बझाङका प्रजिअ केशव बहादुर थापाले मागेजती सुरक्षाकर्मी नपाएको गुनासो गर्दै विप्लवका कार्यकर्ताले केही ठाउँमा निर्वाचन विरोधी गतिवीधी गर्नसक्ने बताए ।
    डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण विष्टले गेष्ट हाउसमा बस्नेहरुको नाम नामेसी लिने काम भईरहेको जानकारी दिँदै भने, ‘विप्लव समुहलाई विशेष निगरानी गरिरहेका छौं ।’
    सुदुरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले छिटफुट सवै जिल्लामा रहेको उल्लेख गर्दै १७ जनालाई नियन्त्रणमा लिएको बताए ।

    सिडीओ सावको चिन्ता, ‘भौगोलिक विकटता र झरी’
    दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा मौसम पनि मुख्य चुनौतिको रुपमा देखा परेको प्रमुख जिल्ला अधिकारीहरुले औंल्याएका छन् । ‘भौगोलीक विकटता र पानी पर्ने संभावना पनि हाम्रो चिन्ताको विषय भएको छ’ अछामका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘बिजुली नभएकाले सञ्चार साधनको ब्याट्री चार्ज गर्ने समस्या छ, बाटो सवैतिर पुगेको छैन मतपेटीका ढुवानीको समस्या छ ।’ त्यस्तै अछाममा न्युन संख्यामा विप्लवको उपस्थिती रहेकाले निगरानी गरिरहेको प्रजिअ विष्टले जानकारी दिए ।
    दार्चुलाका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले पनि बर्षायामका कारण राजमार्ग तथा सहायक मार्ग अबरुद्ध हुनसक्ने औंल्याउँदै निर्वाचन सामग्री नष्ट हुनसक्ने चुनौती रहेको बताए । कोईरालाले विप्लव समुहसँग निरन्तर संवाद भईरहेको उल्लेख गर्दै भने, ‘हामीलाई विप्लवका कार्यकर्ताले निर्वाचन नबिथोल्ने बचन दिएका छन्, तैपनि निगरानी गरिरहेका छौं ।’
    दार्चुलामा भौगोलिक विकटताका कारण ६ दिनको पैदल दुरीमा चुनाव गराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रजिअ कोईरालाले पहिरोले बाटो अवरुद्ध हुनसक्ने बताए ।
    वैतडीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले केही गाउँपालिकामा स्थायी प्रहरी चौकी नभएकाले अस्थायी प्रहरी चौकी राखिएको जानकारी दिँदै भने, ‘विप्लव माओवादीहरु नभएका होईनन् छन्, तर निर्वाचन विरोधी गतिबिधी उनिहरुले गर्नसक्ने देखिँदैन् ।’
    प्रमुख जिल्ला अधिकारीहरुको सुरक्षा अवस्थाबारेको रिपोर्टिङ सुनेपछि गृह–सचिव लोकदर्शन रेग्मीले आवश्यक साधन स्रोतको ब्यवस्थापन परिपुर्ति गरिने जानकारी दिँदै रात–दिन नभनिकन निर्वाचनमा खट्न निर्देशन दिए ।
    गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले फिल्डमा खटिएका सुरक्षाकर्मीको मनोवल उच्च राखेर मुख्य योजनानामा सतर्क हुन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।
    जनताले निर्वाचन चाहेको हुनाले प्रमुख जिल्ला अधिकारीहरुले ब्याख्या गरेको सुरक्षा चुनौती सामना गर्न गाह्रो नहुने उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दलहरुवीचको प्रतिस्पर्धालाई सहजिकरण गर्ने काम प्रशासक र सुरक्षकर्मीको हो, त्यसैले निर्वाचनमा पक्षधरता नदेखाउनोस् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij