बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बाढीपहिरोले पाँचको मृत्यु, चार बेपत्ता

  • प्रकाशित मिति : सोमवार, असार १९, २०७४



  • अविरल वर्षासँगै पोखरा–लेखनाथ महानगरपालिकाको प्रस्याङपाखा र लामाचौरमा गएको पहिरोमा पुरिएर दुईको मृत्यु भएको छ । प्रस्याङपाखामा १४ वर्षीय टंक क्षेत्री र लामाचौरमा ३२ वर्षीया शोभा पौडेलको मृत्यु भएको हो ।

    आइतबार बिहान ४ बजेतिर गएको पहिरोले तारापति अधिकारीको दुईतले घर पुर्दा क्षेत्री पनि पुरिएको प्रहरीले जनाएको छ । स्याङ्जा गल्याङ–५ का उनी ठूलीआमाको घरमा पाहुना हुन आएका वेला पहिरोमा पुरिएका हुन् । उनी प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा ८ कक्षामा अध्ययनरत थिए ।

    त्यस्तै, शनिबार साँझ पोखराको फुस्रेखोलाले बगाएर पर्वत राम्जा–६ तिलहारकी ५५ वर्षीया लीलाकुमारी लामिछाने बेपत्ता भएको प्रहरीले जनाएको छ । छोरी जमुना खड्काको घरमा आउँदै गर्दा खोलाले उनलाई बगाएको हो ।

    कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार सराङकोटको मेथलाङ डाँडाबाट बगेको पहिरोले प्रस्याङपाखाका आधा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फिर्केखोला थुनिँदा किनारामा घर बनाएर बसेका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । मालेपाटन, छोरेपाटन, दोबिल्ला, विन्ध्यवासिनी, घारिपाटन, लामाचौर, बाटुलेचौरलगायतका क्षेत्रमा जमिनमा ठुल्ठूला भ्वाङ परेका छन् ।

    मनसुन सक्रिय भएसँगै पोखरामा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । मौसम विभागका अनुसार पोखरामा २४ घन्टामा १९१ मिलिलिटर पानी परेको छ । पोखरामा १८ अगस्ट २००१ मा सबैभन्दा धेरै ३५७ मिलिलिटर पानी परेको रेकर्ड छ ।

    -पहिरोमा परी पोखरामा दुईको मृत्यु, फुस्रेखोलामा महिला बेपत्ता 
    -पर्वतको होस्राङदीमा पहिरोले घर बगायो, दुईको मृत्यु, एक बेपत्ता
    -प्युठानमा एक बालिकाको मृत्यु, दुई बेपत्ता
    -तटबन्धकै कारण बाँके फत्तेपुरका सात गाउँ बाढीको जोखिममा

    पर्वतमा दुईको मृत्यु, एक बेपत्ता
    पर्वतको महासिला गाउँपालिका–१ मा शनिबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका दुईको मृत्यु भएको छ । एक बेपत्ता छन् । साबिकको होस्राङदी गाविस–१ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर पहिरोले बगाउँदा उनीसहित पत्नी यमकुमारीको मृत्यु भएको छ । मल्लकी ८० वर्षीया आमा बेलकुमारी बेपत्ता रहेको होस्राङदीका वडाध्यक्ष ईश्वरी भुसालले बताए ।

    पोखरा–बाग्लुङ राजमार्ग ६ स्थानमा अवरुद्ध
    दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोले पोखरा–बाग्लुङ राजमार्गको पर्वत खण्डमा मात्रै ६ स्थानमा सडक अवरुद्ध भएको छ । राजमार्ग सुचारु गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीको टोलीले सडक डिभिजन कार्यालय बाग्लुङको सहयोगमा आइतबार बिहान डोजर परिचालन गरी सञ्चालनमा ल्याइएको छ ।

    प्युठानमा पहिरोमा पुरिएर एकको मृत्यु, दुई बेपत्ता
    पहिरोले घर पुरिँदा बेपत्ता भएकी बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् । अझै दुईजना बेपत्ता छन् । शनिबार रातिको अविरल वर्षासँगै झरेको पहिरोले घर पुरिँदा गौमुखी गाउँपालिका–३ रजवाराकी १६ वर्षीया जयकली घर्ती बेपत्ता भएकी थिइन् । पहिरोले च्यापिएको अवस्थामा आइतबार उनको शव भेटिएको छ ।

    त्यस्तै, नौबहिनी गाउँपालिका–२ कुर्तिवाङमा गोठ बगाउँदा भित्र सुतिरहेका दाजुभाइ १५ वर्षीय जगुमान घर्ती र ११ वर्षीय सुनील घर्ती बेपत्ता भएको स्थानीयले बताएका छन् । शनिबार रातिदेखि उत्तरी प्युठानका गाउँहरूमा सञ्चार असुविधाले प्रहरी कार्यालयमा बिहान खबर आएकाले पनि साँझ ६ बजे मात्र प्रहरी टोली घटना पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले बताए ।

    तटबन्धकै कारण फत्तेपुरका सात गाउँ बाढीको जोखिममा

    फत्तेपुर (बाँके) । बाढीबाट जोगाउन जनताको तटबन्धले राप्ती नदीमा पक्की तटबन्ध बाँधेपछि राप्ती–सोनारी गाउँपालिका–७ का सात गाउँ जोखिममा परेका छन् । पक्की तटबन्धले गेन्दवा, भर्था, पहाडीपुर, शान्तिपुर, भवनियापुर, भदुह्वा, खल्ला झगडियालगायतका गाउँ डुबानमा पर्ने खतरा रहेको खल्ला झगडियाका जागेश्वर मौर्यले जानकारी दिए । उनले एकातिरबाट राप्ती नदीको बाढी र अर्कोतिर पहाडबाट आएको पानीले गाउँ डुबानमा पर्ने बताए ।

    साबिक फत्तेपुर गाविसको सिधनवाभन्दा माथि पक्की तटबन्ध छ । तर, सिधनवा र खल्ला झगरियाको बीचमा पर्ने ठूला भूभागमा तटबन्ध नबनाउँदा त्यहाँका बासिन्दा असुरक्षित भएका छन् । पहिलेको भन्दा यो वर्ष झनै असुरक्षित भएको राप्ती–सोनारी–७, भर्थाका सद्दाम हुसैनले बताए । जनताको तटबन्ध कार्यक्रम पश्चिम सेक्टर लमहीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विनोदकुमार चापागाईंले बाढी पस्ने ठाउँमा नै पक्की तटबन्ध गरेको बताए । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij