मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

  • प्रकाशित मिति : मङ्लबार, साउन ३, २०७४



  • नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन। १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि। देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो। कतिपय कुपोषणको सिकार भए। लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो। १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन। दीपा दाहालले आजको अन्नपूर्णमा यो खबर लेखेकी छन्।

    १७ औं पटकमा बल्ल छोरा जन्मियो। परिवारमा खुसी छायो। अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन्। जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन। ‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ। म मरेपछि श्रीमान्ले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !’ देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उनको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ।

    देउता खुसी पार्न यातना

    कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन। त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दैछन्। सुत्केरी भएको चार दिनमा उनलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ। गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उनलाई परिवारका कुनै सदस्यले छुँदैनन्। भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ। पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ। ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन्। गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय। त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन्।

    गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ। त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ। तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन। ‘बच्चा मरेको मर्‍यै भए। अस्पताल जाँदा पनि केही भएन। वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो। आमालाई दूध-दही, हरियो-परियो दियो भने त्यो पनि मर्छ’, पति घनश्यामले भने, ‘पाप हुने काम गर्नुहुन्न। यो हाम्रो समाजको नियम हो।’

    देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ। धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ। ‘म धन्न बाँचेको छु। मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन्। बच्चा त कति खेर जान्छन् कति,’ देवकीले भनिन्।

    देवकीको भनाइमा सत्यता भएको बैतडी जिल्ला अस्पतालका प्रमुख एवं सुत्केरी रोग विशेषज्ञ डा. गुणराज अवस्थी बताउँछन्। ‘सुत्केरीलाई श्रीमान्ले समेत छुन्नन्। जतिबेला सबैभन्दा धेरै माया र हेरचाह गर्नुपर्ने हो, त्यतिबेलै सुत्केरीसँग टाढा भाग्छन् उनीहरू। त्यस्ता मानिससँग कैयौंपटक मेरो झगडा नै परेको छ’, डा. अवस्थीले भने, ‘हाम्रा स्वास्थ्यकर्मी एक्लै हुन्छन्। परिवारका सदस्यले बच्चा र सुत्केरीलाई छुन नमान्दा बच्चालाई न्यानो लुगा लगाउँदा, सफा गर्दा, आमाको दूध खुवाउँदा सहयोग गर्ने कोही हुन्नन्।’

    छोरी हुँदा झनै यातना

    बैतडीकै श्रीकोटकी पार्वती ठगुन्ना छोराका लागि २७ वर्षको उमेरमा १० पटकसम्म गर्भवती बनिसक्नुभएको छ। छोरी मात्रै जन्माउँदा परिवारले आफूलाई दूधसमेत खुवाउन नदिएको ठगुन्नाको गुनासो छ। सुत्केरी हुँदा कैयौं रात भोकै बस्नुपरेको र राम्रो सुत्ने ठाउँ नहुँदा बिरामी परेको उनको भनाइ छ। गर्भवती भएको ६ महिनापछि उनले छोएको पानी परिवारलाई चल्दैन। घन्टौं एक्लै छट्पटाएर पार्वतीले छोरीहरूलाई जन्माएकी छन्। ‘गर्भवती र सुत्केरी हुँदा हीनताबोध हुन्छ परिवारको व्यवहारले। कहिलेकाहीँ त भीरबाट फालहालुँजस्तो लाग्छ,’ पार्वतीले भनिन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij