आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार!

  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७४



  • बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो । तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले बताए ।

    ‘तार कताबाट लगेको छ भनी कार्यालयका पुराना कर्मचारीलाई ल्याएर पनि देखायौँ, उनीहरुले यहीँबाट लगेको भनी ठम्याउन सक्नुभएन, कार्यालयमा कतै यससम्बन्धी अभिलेख पनि पाइएन, विसं २०४२ अघि जापानी आयोजनाले बनाएकाले केन्द्रीय कार्यालयमा पनि यससम्बन्धी कुनै अभिलेख पाउन सकिएन’– उनले भने ।

    ढुङ्गेअड्डाको मात्र नभई अन्यत्र पनि भूमिगतरुपमा बिच्छ्याइएका तारको अभिलेख पाउन नसकिएको कार्यालय प्रमुख खत्रीले सुनाए । काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डा क्षेत्रमा भूमिगत बिजुलीको तार कहाँ छ भन्ने ठम्याउन नसक्दा काम अघि बढ्न सकेको छैन ।

    यो सडक विस्तारमा अन्य ठाउँमा अरु समस्या भए पनि ढुङ्गेअड्डामा भूमिगत तारको समस्याले सताएको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए । ‘रत्नपार्क र नयाँबानेश्वरमा भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउने क्रममा काटियो, यहाँ पनि प्राधिकरणसँग तार कहाँबाट बिच्छ्याइएको छ भन्ने अभिलेख रहेनछ, धन्न दुर्घटना भएन, ढुङ्गेअड्डामा तार बिच्छ्याइएको अभिलेख नहुँदा सडक विस्तारमै समस्या भएको छ’– उनले भने ।

    प्राधिकरणको केन्द्रीय कार्यालय र सम्बन्धित वितरण केन्द्रमा पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख नहुँदा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउँदा तार काटिएर उपत्यकाका धेरै स्थानमा विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।

    मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकाल विद्युत् प्राधिकरणका कर्मचारी पनि सँगै काममा खटिएका बेला रत्नपार्क र नयाँ बानेश्वरमा बिजुलीको तार काटिएको बताउँछन् ।

    ‘प्राधिकरणका कर्मचारीलाई पनि भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तार कताबाट कति गहिरोरुपमा लगिएको छ भन्ने थाहा रहेनछ’– उनले भने  ।

    भूमिगतरुपमा बिच्छ्याइएको संवेदनशील बिजुलीको तार कहाँबाट लगिएको छ भन्ने अभिलेख सम्बन्धित कार्यालयसँग नहुँदा खानेपानीको पाइप बिच्छ्याउने, सडक विस्तार गर्ने र भूमिगतरुपमा नेपाल टेलिकमको तार बिच्छ्याउने क्रममा दुर्घटना हुनसक्ने खतरा देखिएको छ ।

    प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भूमिगतरुपमा बिच्छ्याइएको बिजुलीको तारको अभिलेख भए सम्बन्धित वितरण केन्द्रमै हुने बताउँछन् ।

    विसं २०४२ भदौ १ गते विद्युत् विकास विभाग, नेपाल विद्युत् निगम र विद्युतसँग सम्बन्धित बोर्ड गाभेर प्राधिकरण गठन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij