आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोकलाम गतिरोध : भारत–चीन युद्धतर्फ अघि बढ्दै छन् त ?

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • भुटान, भारत र चीनबीच पर्ने त्रिदेशीय सीमा क्षेत्र डोकलामको मच्चिँदो सैन्य तनावले सन् १९६२ को भारत–चीन युद्ध पुनः दोहोरिने झल्को दिइरहेको छ । चिनियाँ आधिकारिक सञ्चार माध्यम र थिङ्कट्याङकहरूले भारतले इतिहासबाट पाठ सिक्ने हो र वर्तमान गतिरोधलाई उचित तवरले सम्हाल्न नसक्ने हो भने द्वन्द्व युद्धसम्म बढ्न सक्ने चेतावनी दिएका छन् ।

    हालको तन्किँदो विवादको बारेमा प्रश्न गर्दा भारतका लागि चिनियाँ राजदूत लु झाहुइले यस्तै अवस्था रहेमा युद्ध हुने सम्भावनालाई नकार्न नसकिने कुरा बताए । ग्लोबल टाइम्सको एउटा लेखले भुटानको तर्फबाट भारतको संलग्नतालाई उल्लेख गर्दै भारतकै तर्कलाई मान्ने हो भने भारत र पाकिस्तान बीच विवादित क्षेत्रमा यदि पाकिस्तान सरकारको अनुरोधमा कुनै तेस्रो राष्ट्रको सेना प्रवेश गर्न मिल्ने कि नमिल्ने भन्ने विषय भारतले सोच्नुपर्ने उल्लेख गरेको छ ।

    यता नयाँ दिल्लीमा पनि ध्वांश उत्तिकै चर्को छ । जब बेइजिङले १९६२ को युद्धमा भारतले झेलेको शर्मनाक हारको कुरो स्मरण गराउन चाह्यो, भारतीय रक्षा मन्त्री अरुण जेटलीले १९६२ र २०१७ को भारतमा आकाश पातालको फरक रहेको कुरा उल्लेख गरे । त्यस्तै, भारतका सैन्य प्रमुख विपिन रावतले भारत र चीनबीचको युद्धको सम्भावनालाई स्वीकार्दै भारत पूर्ण सैन्य युद्धको लागि तयार रहेको बताए । युद्ध भइहालेमा युद्ध सामग्रीको अभाव नहोस् भनी सेनालाई गोलाबारुदको आकस्मिक खरिद, भण्डारण र विभिन्न हतियारको स्पेयरका लागि भारत सरकारले सेनालाई आदेश दिइसकेको छ । विषयलाई अझ गम्भीर बनाउँदै, केही प्रभावशाली नीतिकारहरूले वर्तमान गतिरोधलाई सीधा १९६२ सँग जोड्दै नरेन्द्र मोदी र विपिन रावतलाई जवाहरलाल नेहरूर बी एम कौल र तत्कालीन युद्ध केन्द्र ढोला पोस्टलाई डोकलामसँग दाँजेका छन् ।

    भारत–चीन युद्धको त्रास डोकलाम गतिरोधले मात्र उब्जाएको होइन । दुई अर्ब साठी करोड जनसङ्ख्या रहेको एसिया प्यासेफिकका दुई भिमकाय आणविक राष्ट्रहरू बीचको युद्धको सम्भावना विगत केही दशकदेखि नै वैश्विक रणनीतिक समुदायहरू बीच महत्वपूर्ण चासोको विषय रहँदै आएको छ । युद्धले निश्चय पनि हजारौँ ज्यान लिन सक्छ र विश्व अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पार्न सक्छ तथापि यो रणनीतिक समुदायले यस क्षेत्रमा युद्ध उक्साइरहेका छन् ।
    तनाव बढ्दै जाँदा तड्कारो प्रश्न उठ्छ, पहिलो गोली कुन पक्षले पड्काउला, भारत या चीन ? यो प्रश्नको जवाफले मिलियन डलर क्वेसनको  उत्तर प्राप्त गर्न सहयोग गर्छ; के अर्को भारत–चीन युद्ध होला ? सीमा तनातनीमा अल्झेका दुवै पक्ष धेरै कारणले  छोटो या लामो युद्धमा होमिने सम्भावना कम देखिन्छ ।

    भारत चीनविरुद्ध युद्धमा जाला ?
    भारत–चीन विरुद्ध युद्धमा जाला भन्ने प्रश्नको उत्तर जबर्जस्त ‘जाँदैन’ भन्ने नै हुन्छ । कारण सामथ्र्य, सैन्य क्षमता र हतियार जस्ता  रणनीतिक लेखाजोखा भन्दा पर छ । स्पष्ट भन्नुपर्दा नयाँ दिल्लीलाई आफ्ना शत्रुविरुद्ध पहिला गोली हान्न आदेश दिन रोक्ने प्रधान शक्ति यसको मजबुत वा कमजोर सेना होइन । भारतलाई युद्धउन्मुख हुन आफ्नै सरकारको संरचना र घरेलु राजनीतिक नेतृत्वले नै तगारो हाल्छ ।

    युद्ध मूलतः राजनीतिक कृया नै हो । वास्तवमा युद्ध फ्रन्टलाइनमा गोली हान्ने सेना लड्दैन । बरु युद्ध घोषणा गर्ने नेताहरू लड्छन्, जो युद्धको नतिजाप्रति नेतृत्व नै उत्तरदायी हुन्छन् । घरेलु राजनीतिमा युद्धले सरकार वा नेतृत्व परिवर्तनसम्मको परिणाम पनि भित्र्याउन सक्छ ।

    युद्ध अध्यताद्वारा विकसित ‘युद्धको रुचाइएको सिद्धान्त’मा लोकतान्त्रिक नेतृत्वहरू जित्न सकिने युद्ध मात्र लड्न रुचाउने प्रवृत्तिका हुन्छन् भनिएको छ । यस सिद्धान्तअनुसार, लोकतान्त्रिक नेताहरूको शक्ति जनसमर्थनमा टिकेको हुन्छ । जसकारण कठिन युद्ध लड्न सक्ने सम्भावना कम हुन्छ । अन्य प्रकारको शासनमा भन्दा लोकतन्त्रमा पुनः हुने निर्वाचन अभियानमा युद्धको परिणाम प्रतिविम्बित हुने सम्भावना प्रबल हुन्छ । तसर्थ, युद्ध हुँदै गर्दा लोकतान्त्रिक नेतृत्वले युद्धमा जीतको सुनिश्चितता गर्नै पर्दछ । घरेलु राजनीतिलाई आफ्नो पक्षमा पार्न जीतको आवश्यकताले लोक कल्याणकारी खर्चको बदला सामरिक खर्चलगायत अतिरिक्त कदम चाल्न नेतृत्व विवश हुन्छ । युद्ध जितिहालेमा युद्ध जितेको खुशीयालीमा जनताले सबै दुःखहरू बिर्सन्छन् । हारेमा भने उनीहरूले भोगेका साना दुःखहरूपनि स्मरण गर्छन् साथै आफ्नो नेतृत्वले राष्ट्रको शिर झुकाएको ठान्छन् । यहाँ लोकतान्त्रिक नेतृत्वले युद्ध उनीहरूको आधारभूत समर्थनमा विनाशकारी हुनेछैन भन्ने पक्का गर्नुपर्दछ ।

    यावत कारणलाई मध्यनजर गर्दा नयाँ दिल्लीको उत्तम विकल्प युद्धको तयारी गर्नु त होला तर सुरु गर्नु होइन । तथ्यमा हेर्दा युद्धको तयारीले राष्ट्रिय भावनालाई एक गर्दै निर्वाचन जित्ने सरकारको सम्भावना बढाउँछ । यी मान्यता र तथ्यहरूमा विचार पुर्याउँदा, कमसे कम आउने निर्वाचनसम्म नयाँ दिल्ली बेइजिङसँग युद्धमा जान सक्दैन ।

    चीनले जोखिम मोल्ला त ?
    चीनको तीव्र उत्तेजना, चेतावनी साथै १९६२ को प्रसङ्गलाई निरन्तर बढाइचढाइ  गरिरहेको देख्दा बेइजिङले आफ्नो छिमेकीविरुद्ध युद्ध छेड्ने अवश्यमभावी छ र युद्ध निकट छ जस्तो देखिन्छ । तथापि चीनले युद्धमा जानु अघि दुई पल्ट सोच्नै पर्छ । बेइजिङको हालको पहिलो प्राथमिकता उसको आर्थिक शक्तिलाई विश्वव्यापी समर्थन प्राप्त गर्दै आसन्न महाशक्तिको स्थान हासिल गर्नु हो । अन्तर्राष्ट्रिय समुदायले चीनलाई संसारको हरेक कुनामा पाइला टेकेको आर्थिक महाशक्तिका रूपमा स्वीकार गरे पनि भविश्यको नेतृत्वदायी भूमिकामा देख्न चाहन्न । यो अस्वीकार्यताको मुख्य कारण सङ्कटग्रस्त नवउदारवादी मूल्य र पश्चिमा नेतृत्वको विश्व सञ्चालन प्रणालीलाई वैकल्पिक मान्यता र आधार प्रदान गर्न बेइजिङको अक्षमता नै हो ।

    यस्तो अवस्थामा चीनले भारतविरुद्धमा युद्ध छेड्ने जोखिम लियो भने उसमाथि हस्तक्षेपकारी र साम्राज्यवादी प्रवृत्तिको आरोप बलियो हुँदै जान्छ । भारत विरुद्धको युद्धले चीनले विश्वसामु देखाउने गरेको भद्र महाशक्तिको छविलाई अन्ततः नष्ट गर्छ । बेइजिङले आफ्नो शक्तिशाली छिमेकीविरुद्ध युद्ध निश्चित गरिहाल्नुभन्दा पहिला उसको प्रतिद्वन्द्वीसँग विश्व व्यवस्थालाई बदल्न सक्ने सामथ्र्य छ भन्ने बुझ्न पनि जरुरी देखिन्छ । सी जिनपिङले ‘कुशल नेतृत्वले लडाइँ नलडेरै शत्रुलाई वशमा राख्छ’ भन्ने तथ्यलाई मनन गर्नुपर्ने देखिन्छ । अहिले बेइजिङको एउटै विकल्प भनेको नयाँ दिल्लीलाई विद्यमान खतराको रूपमा विश्वलाई विश्वस्त तुल्याउनु मात्र हो । तथापि डोकलाम चीन र सानो राष्ट्र भुटानबीच अवस्थित भूभाग भएकाले यो सजिलो काम भने होइन ।

    निष्कर्षमा, नयाँ दिल्लीलाई घरेलु राजनीतिक खिचातानीले बेइजिङको विरुद्धमा युद्धमा जानबाट रोक्छ भने चीनलाई उसको अन्तर्राष्ट्रिय छविले त्यसो गर्नबाट रोक्छ । नयाँ दिल्लीको वर्तमान सरकार २०१९ मा नयाँ निर्वाचनको सामना गर्दैछ र परिणामको निश्चितता नभएको युद्ध उसको लागि उचित विकल्प होइन । बेइजिङले वासिङ्टनको पदचाप पच्छ्याउँदै विश्वव्यापि नायकत्व लिने प्रयास गर्दै छ । यस्तो अवस्थामा आफ्नै छिमेकीविरुद्ध युद्ध छेड्नु उसमाथि अन्य राष्ट्रले राम्रो दृष्टिले हेर्ने अवस्था होइन । तसर्थ, भारत र चीनसँग रहेको एउटै विकल्प भनेको तिनीहरूको आफ्नो आन्तरिक राजनीतिलाई प्रभावमा राख्न अनिश्चितकालीन गतिरोध कायम राख्नु नै हो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij