प्रकाशित मिति : शनिबार, साउन २१, २०७४
१३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन सडकमा ओर्लिएकी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो ऐक्यवद्धता डा.केसीको माग र समग्र स्वास्थ्य क्षेत्रको विकृति र विसंगतीविरूद्ध भएको बताएकी छन्।
शनिबार सोलिडारिटी फर प्रोफेसर डा.गोविन्द केसी अलायन्सले आयोजना गरेको र्याली पछिको सभामा सम्बोधन गर्दै कार्कीले डा. केसीको माग न्याय संगत र विधिसम्मत भएको भन्दै चाडो भन्दा चाँडो सरकारले सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
‘डा. केसीको माग समग्र स्वास्थ्य र शिक्षा जगतका लागि हो। हाम्रो विद्यार्थीका लागि हो। केसीको आन्दोलन एक्लो होइन, हामी सबैको यसमा साथ छ,’ उनले भनिन्।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा र्याली निकालिएको हो।
मध्याह्न १२ बजे माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म निकालिएको र्यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, पेशाकर्मी, कलाकार र सर्वसाधारणको सहभागिता थियो।
यस पटकको जनप्रदर्शनलाई घण्टी र्यालीको नामसमेत दिइएको कार्यक्रममा निदाएको जस्तो अभिनय गर्ने सांसदहरुलाई घण्टीले झकझक्याउन घण्टी र्याली निकालिएको आयोजकमध्येको ‘सोलिडारिटी फर प्रोफेसर डा. गोविन्द केसी अलायन्स’ का सह संयोजक डा. अभिषेक राज सिंहले बताए।
संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक पास गर्न सांसदहरुको अग्रसरता नदेखिएकोप्रति लक्षित गर्दै घण्टीसहित प्रतीकात्मक विरोध प्रदर्शन गरिएको हो ।
संसद्मा पुगेको चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै र्यालीमा ‘६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता’ लगायत नारा लगाइयो । र्यालीमा डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नागरिक समाजका कृष्ण पहाडी, अभिनेता राजेश हमाल, अभिनेत्री केकी अधिकारी लगायतको सहभागिता थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij