आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत र चीनका सेनाबीच झडप हुँदा दुवै देशका सेना घाइते

  • प्रकाशित मिति : बिहिबार, भदौ १, २०७४



  • भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । प्याङगोङ तालनजिकैको भारतीय भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि दुवै देशका सेनाले एक–अर्कालाई हतियार ताक्ने प्रयास गरेका थिए । यो खबर एजेन्सीलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा छापिएको छ।

    दुवै देशका सेना सामान्य घाइते

    सिक्किम, भुटान र तिब्बतको दोकलाममा विवाद बढिरहेकै वेला जनमुक्ति सेनाले भारतीय सेनालाई थप चुनौती दिएको छ । तिब्बतबाट भारततर्फ बढिरहेको चिनियाँ सेना सीमामा रहेको ताल कटेर आउने क्रममा झडप भएको हो । तालको दुईतिहाइ भाग चीनले ओगटेको भारतले दाबी गरेको छ । ‘चीनका जनसेना भारत अधीनस्थ फिंगर ४ र फिंगर ५ तर्फ बढेपछि दुई देशका सेनाबीच झडप भएको छ । दुवै देशका सेनाबीच ढुंगा हानाहान भएको छ,’ भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै दी टाइम्स अफ इन्डियाले जनाएको छ । ढुंगा लागेर दुवै देशका सेना सामान्य घाइते भएका छन् । चीनको अतिक्रमणबाट जोगाउन मानव सिक्री बनाउनुपरेको भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

    चीनले दखल दियो : भारत

    चार हजार ५७ किलोमिटर लामो एलओसीको सबै तीनवटा क्षेत्रहरू पश्चिम (लद्दाख), मध्यभाग (उत्तराखण्ड र हिमाञ्चाल) र पूर्वी खण्ड (सिक्किम र अरुणान्चल प्रदेश)मा चिनियाँ सेनाले निरन्तर दखल दिएको भारतीय सेनाको आरोप छ ।

    गत महिना मात्र उत्तराखण्डको चामोली जिल्लाको गैरसैनिक क्षेत्रमा १५ चिनियाँ सेनाले अतिक्रमण गरेको भारतीय पक्षको दाबी छ । पूर्वी लद्दाखको चुमार, दिपसाङ, पाङगोङलगायतका क्षेत्र विगत केही वर्षदेखि दुई देशका सेनाबीच तनावको केन्द्रबिन्दु बनेको छ ।

    लद्दाखमा यसअघि पनि छिटफुट रूपमा दुई देशका सेनाबीच झडप हुने गरेको भारतीय सेनाले जनाएको छ । १३ हजार नौ सय फिटको उचाइमा चाङला पासमा रहेको पाङगोङ तालमा दुवै देशका सेनाले एक–अर्काविरुद्ध सशस्त्र डुंगा परिचालन गरेका छन् । सो क्षेत्रमा दुवै देशका सेनाले दिनहुँजसो डुंगा, मोर्टार र पैदल गस्ती गर्छन् । तालको दक्षिणी किनारको माथिल्लो भागमा चीनले सानो मार्ग बनाएको भारतको दाबी छ । सन् १९९९ मा पाकिस्तानसँगको कार्गिल युद्धमा सो क्षेत्र द्वन्द्वको मुख्य केन्द्रबिन्दु थियो ।

    सीमा विवादलाई लिएर दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । अधिकांश क्षेत्रमा विवाद समाधान नहुँदा दुई देशबीच बारम्बार तनाव हुने गरेको छ ।

    चिनियाँ भूमि छोड्नुपर्छ

    चिनियाँ जनसेना सीमा पार गरेर भारत नपुगेको बेइजिङले बताएको छ । जनसेनाले आफ्नो भूभागको रक्षाका लागि सदैव गस्ती गरेको तर अतिक्रमण गरेर भारतीय भूमिमा नपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ता हु चुनिङले बताइन् । ‘चीन–भारत सीमामा शान्ति र स्थिरता कायम गर्न चिनियाँ पक्ष सदैव प्रतिबद्ध छ,’ उनले भनिन् । दुई देशबीच भएका सम्झौताको पालना गर्न उनले भारतलाई आग्रह गरिन् । भारतले तत्कालै र विनासर्त सम्पूर्ण जवान र हतियार चिनियाँ भूमिबाट हटाउनुपर्ने विदेश मन्त्रालयले जनाएको छ । झडप हुँदा जनमुक्ति सेना चिनियाँ भूमिमा नै रहेको बेइजिङले दाबी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij