प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४
मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरू भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज झापा आयोजित कार्यक्रममा सो सेवा शुरू गरेका छन् ।
मेची अस्पतालमा शुरू भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उनले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए । चारवटा मेसिनबाट सेवा शुरू गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उनले बताए ।
उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । ३० लाख रुपैयाँको लागतमा सो उपकरण खरीद गरी सेवा शुरू गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।
भिडियो इण्डोस्कोपी सेवा शुरू भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा ठाकुरले बताए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij