सन् १९५४ अप्रिलको कोसी परियोजना सम्झौता, सन् १९५४ को गण्डक बाँध परियोजना सम्झौता, सन् १९९६ को शारदा बाँध परियोजना तथा महाकाली सन्धि, लक्ष्मणपुर ब्यारेज र कलकलवा तटबन्धका साथै सीमावर्ती क्षेत्रमै भारतद्वारा निर्मित बाँध तथा तटबन्धले बर्सेनि नेपालका सीमावर्ती क्षेत्रमा मानवीय, भौतिक संरचना एवं बालीनाली क्षति भइरहेको अध्ययनमा उल्लेख छ ।
‘‘स्थानीय सीमान्तकृत र निम्न वर्गीय समुदायले अस्वाभाविक पीडा भोग्दै आएका छन्, बर्सेनि हुने डुबानका कारण घरभित्रको खाद्यान्न नष्ट हुँदा र बाली डुबानमा पर्दा उनीहरूको खान र बाँच्न पाउने अधिकार खोसिएको छ,’ अध्ययनमा भनिएको छ,
‘बाढीपहिरोले कतिपय परिवार विस्थापित हुनुपरेको अवस्था पनि सिर्जना भएको छ ।’
सीमावर्ती प्रभावित क्षेत्रका जनताको पेसा खोसिनुका साथै त्यस क्षेत्रमा कुपोषण, भोकमरी, अशिक्षा, गरिबीलगायत समस्या कहालीलाग्दो गरी वृद्धि भएको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार पानीजन्य रोगको सिकार बन्नुका साथै कतिपय समुदाय विखण्डनसमेत भएका छन् । जमिन, कृषि उत्पादन र स्थानीय जीविकालाई समेत गम्भीर एवं दीर्घकालीन असरमा परेको छ ।