प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
वर्षायाममा सडक यातायात सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता हो। चाडपर्व नजिकिँदै गर्दा हवाई यात्रुको चापसमेत बढ्छ। जहाज पनि पर्याप्त नहुँदा जहिल्यै टिकट पाउन सकस छ। आकस्मिक बिरामीसमेत तत्काल अस्पताल पुर्याउन मुस्किल छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
संखुवासभाको सभाखोलाबाट हिले जाने कच्ची सडक र चैनपुर–वसन्तपुर हुँदै जाने कालोपत्रे सडक भत्केपछि तुम्लिङटार विमानस्थलमा टिकट लिनेको चाप बढेको छ। कच्ची सडकबाट काठमाडौं पुग्न २ दिन लाग्ने भएकाले अधिकांश यात्रु हवाई यात्रा रोज्न बाध्य छन्। चैनपुरका पदम अधिकारी गाडीबाट समयमा नपुगिने अवस्थाले हवाई यात्रा रोजेको बताउँछन्। भाडा महंगो भए पनि हवाई सेवा रोज्नु बाध्यता हो।
खाँदबारीका राजीव श्रेष्ठले काठमाडौबाट तुम्लिङटार फर्कन साताअघि टिकट काटे तर पालो आएको छैन। ‘जहाज चढ्न यात्रुहरूले सात दिन कुर्नैपर्छ,’ उनले भने, ‘टिकट पाउन मुस्किल छ।’ विमानस्थल कालोपत्रे भएपछि तुम्लिङटार आउने निजी कम्पनीका एयरलाइन्स पनि बढेका छन्।
जिल्ला अस्पतालले रिफर गरेका बिरामीका लागि समेत टिकट पाउन समस्या छ। हवाई टिकट नपाउदा महँगोमा गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ। ‘एम्बुलेन्स पनि भनेका बेला पाइँदैन,’ जिल्ला स्वास्थ्य प्रमुख डा. विनीतकुमार झाले भने, ‘तुम्लिङटार विमानस्थलमा दैनिक २ जहाजले सेवा दिए पनि टिकट पाउन समस्या छ। तुरुन्तै काठमाडौंलगायत अस्पतालमा लैजानुपर्ने बिरामी हुन्छन्। गाडीबाट लैजान समस्या हुन्छ। कतिले त बाटैमा ज्यान गुमाउनुपर्छ।’
बिरामीलाई गाडी वा एम्बुलेन्सबाट धरान र विराटनगर लैजान पनि त्यति सहज छैन। सडक कच्ची भएकाले टाढाका अस्पतालसम्म बिरामी लैजादा धेरै खर्च हुने स्थानीय रमेश भट्टराईले बताए। गाडी वा एम्बुलेन्स रिजर्भ गरेर लैजाँदा यातायात भाडा मात्रै विराटनगरसम्मको १५ देखि २० हजारसम्म खर्च हुने उनले सुनाए।
१४ सय मिटर लामो विमानस्थलको उचाइ समुद्री सतहबाट ४ सय ५७ मिटर छ। यो विमानस्थलमा एटिआर ४७ सिटेसम्मका जेट इन्जिन भएका जहाज अवतरण हुन सक्छन्। कालोपत्रेसँगै २ वटा निजी एयरलाइन्स बुद्ध र यतिले दैनिक उडान भर्दै आएका छन्। यात्रुको चाप थेग्न नसकेपछि सातामा ४ वटासम्म उडान थप्ने गरेको यति एयरका तुम्लिङटार प्रमुख उमेश चौहानले बताए। उनका अनुसार यात्रुको मागलाई ध्यानमा राखेर सातामा नियमितबाहेक ४ वटासम्म उडान थपिने गरेको छ।
बुद्धले दैनिक १८ र यतिले २८ जनाका दरले यात्रु बोक्छन्। ‘दिनहुँ यात्रुको चाप बढिरहेको छ,’ उनले भने, ‘यहाँको तापक्रम र इन्धनअनुसार घटीबढी गरेर यात्रु लैजाने गरेको गरिन्छ। तुम्लिङटारमा ३८ डिग्रीसम्म तापक्रम बढ्ने हुँदा उडानका क्रममा यात्रु क्षमता भए पनि कम यात्रु बोक्नुपर्छ।’ दसंैलाई मध्यनजर गरेर यति र बुद्ध एयरले उडान थप्दैछन्। दैनिक २ वटा जहाजले २/२ उडान गर्ने प्रस्ताव केन्द्रमा राखेको एयरलाइन्सले जानकारी दियो। बुद्धले दैनिक तुम्लिङटार–काठमाडौं र सातामा ३ पटक तुम्लिङटार–विराटनगर उडान भर्दै आएको छ। यतिले दैनिक काठमाडौं–तुम्लिङटार उडान भर्दै आएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij