आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्राण्डेड स्पट दरबारमार्ग माथि ‘ठगीको दाग’!

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • भदौ २० गते आपूर्ति मन्त्री शिवकुमार मण्डलसहितको सरकारी टोली बजार अनुगमनमा बजारमा उत्रियो सदाझैँ उक्त टोली असन, थापाथली, कालीमाटी होइन सिँधै दरबारमार्ग हानियो र त्यहाँ रहेका अन्तर्राष्ट्रिय ब्राण्डका आधिकारीक शोरूम, डिलर वा त्यस्ता ब्राण्डका सामान विक्री गर्ने पसलहरूमा गयो। त्यसपछि मन्त्रीको नेतृत्वमा गएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले त्यहाँका केही पसलहरूमा सिलबन्दी गर्‍यो।

    खरीद मूल्यभन्दा  विक्री मूल्यबीचको धेरै गुणा फरक देखिएको, कानूनअनुसार कुनै पनि व्यापारमा २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्थाको उल्लंघन गरेको, सेलका नाममा उपभोक्ता ठग्ने काम गरिरहेको भन्दै सरकारी टोलीले त्यहाँका ब्राण्डेड पसलमा सिलबन्दी गरिदियो।

    त्यस्तै, भदौ २१ गते पनि विभागबाट गएको चारवटा टोलीले दरबारमार्गमा ब्राण्डेड घडी  विक्री गर्ने केही पसलहरूमा र एडिडास, लिभाइज, बोस्नीका कपडा विक्री गर्ने पसलमा सिलबन्दी गरेको छ।

    उपभोक्ता संरक्षण ऐन, कालोबजारी ऐन विपरीत अकूत नाफा खाएर सामान  विक्रीवितरण गरेकोले त्यस्ता पसलमा सिलबन्दी गरिएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

    आफूहरूले कुनै नियत राखेर भन्दा पनि उपभोक्ताहरूको हक, हित संरक्षणको लागि यो कमद चालिएको उनको भनाइ छ।

    दरबारमार्गका करीब एक दर्जन पसलहरूमा सरकारी टोलीले सिलबन्दी गरेपछि त्यहाँ रहेका अरु पसलहरूले आफैँ बन्द गरिदिएका छन्। सरकारले अनुगमनको नाममा आतंक सिर्जना गरेको भन्दै उनीहरूले बजार बन्द गरेर विरोधमा उत्रिएका छन्।

    अकूत नाफा खाने, उपभोक्तालाई ठगी गर्ने पसल र व्यापारीको पक्षपोषणभन्दा पनि व्यापारीको कुरै नसुनी, स्पष्टीकरण नै नसोधी एकैपटक सिल गरेकोले आफूहरूले यसको विरोध गरेको दरबारमार्ग विकास बोर्डका प्रमुख श्री गुरुङले जानकारी दिए।

    सबैभन्दा बढी व्यापार हुने समयमा अस्वभाविक रूपमा राज्यले पसलमा सिलबन्दी गरेको भन्दै व्यापारीहरू पनि आक्रोसित भएका छन्।

    कुनै पनि सामानमा कति प्रतिशत नाफा भयो भन्ने कुरा खरीद मूल्य र विक्री मूल्यबाट थाहा नपाइने र व्यापारका सामान्य नियम नबुझेझैँ गरी राज्यले नै यसरी आतंक सिर्जना गरेपछि सबै व्यापारीले स्वतःस्फूर्त बजार नै बन्द गरेको गुरुङको भनाइ छ।

    ‘कुनै सामानमा कति नाफा भयो भन्ने कुरा विक्री मूल्यबाट खरीद मूल्य घटाएर आउने यो अंकगणित होइन’ उनले सेतोपाटीसँग भने,‘एउटा वस्तु खरीद गरेर ल्याएदेखि त्यसमा लाग्ने अन्य लागतको कुनै हिसाब हुँदैन?’

    बैंकको ब्याज, भाडा, स्टग, कर, बिजुली पानी तथा अन्य खर्च जोडेर घटाएपनिछ निस्कने नाफा भएपनि सरकारी अधिकारीहरूले जबरजस्ती यति र उति प्रतिशत नाफा भन्दै सिलबन्दी गरेको व्यापारीहरूको आरोप छ।

    दरबारमार्गमा ब्राण्डेड शोरूमको व्यापारसँग जोडिएका रमेश पौडेलले व्यापारीहरूले सबै कुरा देखाउँदा पनि जबरजस्ती सिल गरिएपछि आफूहरू विरोधमा उत्रिएको बताउँछन्।

    ‘एडिडासको पसलेले  खरीद बिल, विक्री बिल  सबै खर्च कटाएर आउने नाफा देखाउँदा देखाउँदै पनि उहाँहरूले सिल गर्नुभयो’ उनले भने,‘सबै जोड्दा आउने नाफा २० प्रतिशतभन्दा माथि पनि थिएन त्यसरी बन्द गर्दा यो नियोजित नै हो भन्ने लागेर हामी विरोधमा उत्रिएका हौं।’

    आफूहरू कालोबजारी गर्नुपर्छ भन्ने पक्षमा कहिलै नभएको र त्यसरी गर्नेहरूलाई कारबाही हुनैपर्ने र संस्थागत रूपमै सहयोग गर्न आफूहरू तयार हुँदाहुँदै पनि यसरी दशैंको मुखमा दरबामार्गको बेइज्जत नै गर्नेगरी सरकार लागेपछि आफूहरूले बजारपसल सबै बन्द गरेको पौडेलको भनाइ छ।

    सामान्यतया खरीद मूल्य १०० प्रतिशत बढी विक्री मूल्य हुने गरेको उनको भनाइ छ। बैंकको ब्याज  र भ्याट १३/१३, भाडा १५–२०, स्टाफ र संचालन खर्च २०, स्टग तथा ड्यामेज कस्ट २० प्रतिशतको हिसाबले खर्चं जोड्दा पनि स्वतः मूल्य शतप्रतिशत बढ्न जाने पौडेललको भनाइ छ। दरबारमार्गमा उसैपनि भाडा महंगो भएको र अन्य खर्च पनि त्यस्तै हुने भएकोले मूल्य बढी नै भएको उनको भनाइ छ।

    वर्षभरको चारमहिनाको व्यापार रिकभर गर्ने समयमा भएको यस्तो सिलबन्दीले व्यापारीहरू मारमा परेको व्यापारीहरूको गुनासो छ। गल्ती गरेको हो कि होइन भन्ने कुराको स्पष्ट प्रमाण नभई एकैपटक शंकाकै भरमा ठगको बिल्ला भिराएर राज्यले आतंक सिर्जना गर्न खोजेको गुरुङले आरोप लगाए।

    त्यस्तै खरीद मूल्य कम देखिने सबैभन्दा ठूलो कारण न्यून बिजकीकरण भएको स्वयम् व्यापारीहरू नै बताउँछन्। भन्सारकै कर्मचारीहरूले कम मूल्यको बिल बनाउन सल्लाह दिने गरेको एक व्यापारीले बताए।

    ‘यो विकृतिको सुरूअात भन्सारबाटै हुन्छ’ नाम नभन्ने सर्तमा उनले भने,‘त्यसरी आउँदै यसैपनि मूल्य कम देखिन्छ त्यसरी एउटाले न्यून बिजकीकरण गरेर ल्याएपछि अर्कोले वास्तविक मूल्य देखाएर ल्याउनै सक्दैन यदि त्यसो भएमा बजारमा न्यून  बिजकीकरण गर्नेले कब्जा जमाउँछ।’

    यहाँका व्यापारीले आफैँ कालोबजारी गरेको भन्दा पनि सुरूअात भन्सारबाटै हुने भएपनि त्यसतर्फ कसैको ध्यान नपुगेकोमा व्यापारहरूको दुखेसो छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij