आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहाडीको मन जित्दै मधेसी उम्मेदवार

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन्। पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन्। यो खबर नवीन झा/फणि महतले आजको अन्नपूर्णमा लेखेका छन्।

    चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ। यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ। चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन्।

    रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुरपछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ। कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन्।

    यस्तै, फतुवाविजयपुरमा कांग्रेसले गोपाल राई यादव, एमालेले बुधाई खा पैठान र माओवादी केन्द्रले सुरेन्द्र राय यादवलाई मेयर पदमा मैदानमा उतारेको छ। कांग्रेसले चन्द्रनिगाहपुर नगरपालिकाबाट समेत मधेसी समुदायका रामचन्द्र चौधरीलाई मेयरमा प्रतिस्पर्धा गराएको छ। चन्द्रनिगाहपुरमा एमालेले उद्धव रेग्मी र माओवादीले युवराज भट्टराईलाई उम्मेदवार बनाएको छ।

    रौतहटका एकजना शिक्षक तथा साहित्यकार सञ्जय साह भन्छन्, ‘यो सकारात्मक सन्देश दिने कदम हो। आफ्नो निहित स्वार्थका लागि राजनीति गर्नेले समाजलाई विभिन्न ट्याग लगाएर विभाजित गरिरहँदा प्रमुख दलहरूको यो कदम सकारात्मक देखिन्छ।’ फतुवा नगरपालिकास्थित शिक्षक विष्णु श्रेष्ठ भन्छन्, ‘पार्टीगत तहबाटै यसरी निर्णय आएपछि यहाँ मधेसी भनेर पहाडी समुदायले उम्मेदवारलाई छुट्याएका छैनन्।’ श्रेष्ठ भन्छन्, ‘यसले सामाजिक घुलमिलको वातावरणलाई झन् बलियो बनाउनेछ।’

    रौतहटको गुजरा नगरपालिकामा २० हजार ९ सय ४८ मतदाता छन् भने फतुवाविजयपुर नगरपालिकामा १६ हजार ३ सय १५ मतदाता छन्। पहाडी मतदाताको संख्या यकिन रूपमा कसैले नदिए पनि स्थानीय अगुवाका अनुसार यी दुवै नगरपालिकामा पहाडी समुदायको बाहुल्य देखिन्छ। यद्यपि, समुदायअन्तर्गत थारू र मुस्लिमसमेत यो क्षेत्रमा बसोवास गर्छन्।

    प्रमुख दलले मधेसलाई सबै ठाउँमा उपेक्षा मात्र गरेको आरोप लागिरहँदा यहाँ कांग्रेस, एमाले र माओवादी तीनै दलले मधेसी समुदायबाट उम्मेदवार उठाएका छन्। ३७ हजार ८ सय ४३ मतदाता रहेको पहाडी समुदायको केन्द्रका रूपमा रहेको चन्द्रनिगाहपुरमा कांग्रेसले मधेसी थारू समुदायका रामचन्द्र चौधरीलाई मेयर उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद चुलिएको छ। दुई वर्षअघि संविधानविरुद्ध मधेसमा आन्दोलन चर्कंदा रौतहट सदरमुकामसहित दक्षिण भेगका मधेसी थारू समुदाय चन्द्रनिगाहपुरमा राजमार्ग अवरोध गर्न आउँदा पहाडी र मधेसी समुदायबीच टकराव उत्पन्न भएको थियो।

    रौतहटका अग्रणी समाजसेवी विजयकिशोर झा मधेस आन्दोलनलगत्तै सुरु भएको मधेसी र पहाडीबीचको मतभेद विस्तारै मिलापमा रूपान्तरण हुन लागेको संकेतका रूपमा लिन्छन्। साहित्यकार तथा शिक्षक साह भन्छन्, ‘नेता भोट तान्न जे पनि गर्ने परम्परा पछिल्लो समय देखिएको छ। अब त्यस्तो नहोस् भन्ने कामना गरौं।’

    १६ नगरपालिका र २ गाउँपालिका भएको रौतहटमा ३ लाख २१ हजार १८ मतदाता छन्। सदरमुकाम गौर नगरपालिकासहित जिल्लाभर नै त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ। गौरमा राजपाका अजय गुप्ता, एमालेका शम्भु साह र संघीय समाजवादी फोरमका गौरीशंकर यादव (पूर्वमेयर) बीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका साह माधव नेपाल निकट मानिन्छन्।

    राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका अजय दोस्रो संविधानसभामा एमाले नेता नेपालसँग झिनो मतले पराजित भएका थिए। माओवादीले महिला उम्मेदवार टैटीदेवी हजारीलाई उठाएको छ। गौरमा नेपाल लोकतान्त्रिक फोरमलगायत ६ दलले मेयर पदमा उम्मेदवार उठाएका छन्। ११ जना स्वतन्त्र उम्मेदवार गरी १७ जनाले मनोनयन दर्ता गरेका छन्।

    गरुडा नगरपालिकामा एमाले र राजपाबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै, वृन्दावन नपामा कांग्रेस, माओवादी केन्द्र र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ। कटहरियामा माओवादी, एमालेबीच र कांग्रेसबीच, राजपुर नपामा कांग्रेस र लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ। जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकामा राजपा नेपाल, एमाले, कांग्रेस, माओवादी केन्द्र तथा संघीय समाजवादी फोरमका उम्मेदवार प्रतिस्पर्धामा छन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij