आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

मलेसियाको चोकचोकमा दलाल, ठगिँदै नेपाली कामदार

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट ।

    रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए ।

    काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए ।

    तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो ।

    २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो ।

    वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ ।

    अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ ।

    जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको हुन्छ ।

    अहिले तोकिएकै नियमअनुसार पनि प्रत्येक कामदारबाट ‘दलाल’ ले औसतमा तीन सय रिंगिट बढी असुलेको देखिन्छ । अर्थात् पछिल्लो चार महिनामा मात्रै नेपाली कामदारबाट नेपाली ‘दलाल’हरूले ४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी असुलेको देखिन्छ ।

    मलेसियास्थित नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात नै भन्छन्, ‘एउटा नेपाली कामदारबाट एजेन्टले ४–५ सय रिंगिट कमिसन खाइरहेको देखिन्छ ।’

    पछिल्ला महिनामा गैरकानुनी कामदारप्रति मलेसिया सरकारले कडा नीति अख्तियार गरेयता घर फर्कनेको संख्या बढदो छ ।

    दूतावासले वैशाखमा मात्रै घर फर्कन चाहने गैरकानुनी हैसियतका नेपालीलाई १ हजार १ सय ३५ ट्राभल डकुमेन्ट जारी गरेको थियो ।

    दूतावासले जेठमा १ हजार १ सय २१, असारमा १ हजार ७ सय १, साउनमा १ हजार ६ सय ८ र भदौ अन्तिम सातासम्म १ हजार १ सय १८ ट्राभल डकुमेन्ट जारी गरेको देखिन्छ । पछिल्ला तीन वर्षमा मात्रै दूतावासबाट एक लाख ४३ ट्राभल डकुमेन्ट जारी भएका छन् ।

    दूतावासको आँगनमा मौलाइरहेको कामदार लुटको चर्को शृंखला डेढ वर्षअघि सुरु भएको हो, जतिबेला मलेसियन सरकारले हारफासे नामक कम्पनीलाई गैरकानुनी नेपाली कामदार घर पठाउने जिम्मेवारी सुम्पिएको थियो ।

    गैरकानुनी कामदारको हैसियतमा रहेका नेपालीको घरफिर्तीका निम्ति सहजीकरणको जिम्मा पाएको यो कम्पनीले अवैध रूपमा ‘सेवा शुल्कबापत’ भन्दै ५ सय ५० रिंगिट अतिरिक्त शुल्क लिन थालेपछि घरफिर्ती महँगो परेको छ ।

    त्यतिमात्रै कहाँ हो र हारफासेका निम्ति कामदार पुर्‍याइदिने जिम्मा पाएका वैध र अवैध एजेन्टले त्यसमाथि थप शुल्क असुलेर कामदार ठग्छन् ।

    हवाई टिकटदेखि होटलमा कामदार राखेबापत र फोटोकपीदेखि फोटो खिच्ने प्रत्येक काममा दलालहरूको कमिसन शुल्क त जोडिन्छ नै ।

    अनौठो त के छ भने हारफासेका वैध एजेन्ट को–को हुन् भन्नेबारे न दूतावास जानकार छ न हारफासेको कार्यालय कहाँ छ भनेर नै दूतावासले बताउन सक्छ ।

    यसरी संस्थागत ठगी र त्यसैको आडमा मौलाइरहेका दलालको चंगुलमा नेपाली कामदार परिरहेका छन् ।

    दूतावासको मौनताकै कारण दूतावासकै आँगनमा ‘दलाल राज्य’ निर्वाध चलिरहेको छ । जसबाट भट्टजस्ता कामदार पसिना बगाएर कमाएको रकम दलाल पोस्नमा खर्च गर्न बाध्य भइरहेका छन् ।

    चोकैपिच्छे दलाल

    विकासको तीव्र गतिमा अघि बढिरहेको क्वालालम्पुरको चमकधमकमा जोकोही नेपालीका पनि आँखा तिलमिलाउँछन् ।

    तर यही चमकधमकको मुन्तिर सलबलाइरहेका ‘दलाल’ बाट ठगिने नेपाली कामदारहरूको कथा चुक घोप्ट्याएजस्तो अध्याँरो छ ।

    यहाँस्थित नेपालीले सञ्चालन गरेका होटल हुन् वा किराना स्टोर सबैमा एक–एक जना एजेन्ट भेटिन्छन् ।

    थकित र गलित नेपाली देख्ने बित्तिकै तिनीहरू हात समात्न आइपुग्छन् र खानेबस्नेदेखि घर पठाइदिने सबै व्यवस्था मिलाइदिने बाचा गर्छन् ।

    कतिसम्म भने दूतावासकै अगलबगलमा रहेका फोटोकपी सेन्टरदेखि रेस्टुराँसम्ममा छयापछ्याप्ती दलाल भेटिन्छन् ।

    आफूलाई हारफासेको आधिकारिक एजेन्ट बताउने नेत्र केसी दूतावासकै छेवैमा फोटोकपी र फोटो स्टुडियो चलाएर बसेका छन् ।

    केही समयअघि कामदार ठगेको लगायत आरोपमा मलेसियन प्रहरीबाट पक्राउ परेर छुटेका केसीले दूतावासको अगलबगलमा करिब एक सयको संख्यामा एजेन्ट सक्रिय रहेको बताए ।
    -कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij