आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वपदाधिकारीलाई सुविधा दिने विधेयक उपसमितिबाट पारित

  • प्रकाशित मिति : आइतवार, अशोज १, २०७४



  • काठमाडौं, असोज १ । ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आइतबार उपसमितिबाट पारित भएको छ ।

    व्यवस्थापिका–संसद, राज्य समितिअन्तर्गत् रहेको उपसमितिको आइतबार बसेको बैठकले सो विधेयक पारित गरेको हो ।

    उपसमितिको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री/मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रियसभाका अध्यक्ष भइ निवृत्त व्यक्ति बुझिने उल्लेख छ ।

    सो शब्दले संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यसमेतलाई जनाउने भनिएको छ ।

    विधेयकको दफा ४ मा पूर्वपदाधिकारीलाई आवासको व्यवस्था नहुन्जेल सरकारले काठमाडौं उपत्यकामा आफ्नो वा एकाघरको परिवारका नाममा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक रु दुई लाख र अन्य पूर्वपदाधिकारीलाई मासिक रु ७५ हजार घर भाडाबापत उपलब्ध गराइने उल्लेख छ ।

    त्यसैगरी, काठमाडौं उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिलाई वार्षिकरुपमा एकमुष्ट रु १० लाख र अन्य पूर्वपदाधिकारीलाई वार्षिकरुपमा एकमुष्ट रु तीन लाख घर मर्मत–सम्भारबापत उपलब्ध गराइने व्यवस्था छ ।

    संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यले भने कुनै सुविधा पाउने छैनन् ।

    सुविधा पाउने पूर्वपदाधिकारीको मृत्यु भएमा निजले उपयोग गरेको सवारी–साधन तीन महिनाभित्र सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    पूर्वसांसदलाई निःशुल्क उपचार
    विधेयकको दफा ७ मा संविधानसभाका सदस्य, व्यवस्थापिका–संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने उल्लेख छ ।

    संविधानसभाका सदस्यलाई सरकारले ‘संविधानसभा सदस्य’ उल्लेख भएको प्रतीकचिह्न उपलब्ध गराउने जनाइएको छ ।

    जीवनबहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको थियो । जसमा ईश्वरी न्यौपाने, रवीन्द्रप्रताप शाह, लोकमणि ढकाल, विशाल भट्टराई, श्यामप्रसाद ढकाल र सन्तकुमार दरै सदस्य रहेका थिए ।

    गत भदौ २९ गते राज्य व्यवस्था समितिको बैठकमा सांसदले पूर्वसांसदलाई दिइने सुविधाका विषयमा छलफल भएको थियो ।

    सो बैठकमा धेरै सांसदले मुलुकको आर्थिक अवस्था मजबुत् नभएकाले पूर्वसांसदलाई पूर्वपदाधिकारीसरह सुविधा तत्कालीन अवस्थामा उपयुक्त नहुने तर पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा पछि कहिल्यै नआउने हुँदा सुविधा उपयुक्त हुने धारणा राखेका थिए ।

    उपसमितिले प्रस्ताव गरेको प्रतिवेदनमाथि समितिको बैठकमा छलफलपछिमात्र पूर्वपदाधिकारीलाई गरिएको सुविधासम्बन्धी विधेयक पारित हुन्छ ।

    सो विधेयक समितिबाट पारित भएपछि व्यवस्थापिका–संसदमा पेस हुन्छ र पारित भएपछिमात्र कार्यान्वयनमा आउँछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij