प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४
जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो गएपछि अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामै अड्किएका छन् ।
मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तीर्थयात्री गणेश गिरीले जानकारी दिए। वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए। वर्षा निरन्तर परिरहँदा जाडोले तीर्थयात्री कठ्याङग्रिएको बताइएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिए ।
पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्राबाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेको आकर्षण बढ्दै गएको छ ।
पटकपटक जहाज दुर्घटनामा पर्न थालेपछि तीर्थयात्री तथा पर्यटक सडक मार्ग हुँदै जाने गरेका हुन् । बिहिबार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भए पनि वर्षाका कारण सम्भव नभएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij