विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन्। उनीहरुले धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेका हुन् ।
सन् २०१७ र ०१८ का लागि सो गाउँमा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गाउँ पर्यटनको रुपमा घोषणा गरिएको भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले बताए।
तीन गाउँ पर्यटनका दृष्टिले अति मनमोहक, स्थानीय परिकार र सँस्कृतिको संरक्षण तथा अतिथि सत्कार लोभलाग्दो रहेका कारण दजनौं गाउँबाट ती गाउँ छानिएको अध्यक्ष सापकोटाको भनाइ छ ।
तीनै गाउँमा होमस्टे सञ्चालनमा रहेको छ। सलाङ गाउँमा आमकोट र मैदान गरि २६ घरधुरी, कुन्छालमा ४ घरधुरी र पित्लेकमा ७ घरधुरीमा होमस्टे सेवा रहेको छ ।
ती गाउँमा पर्यटन प्रबद्र्धनका लागि भोलिदेखि नै काम सुरु गर्ने बताइएको छ।

