प्रकाशित मिति : बिहिबार, अशोज १२, २०७४
धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा यस वर्ष विशेष तामझामसाथ दसैं मनाइँदै छ । यो उत्सवलाई दुई दशकपछि स्थानीय तहका प्रतिनिधि चयनले थप विशेष बनाएको छ । जनकपुरमा दसैंको मुख्य आस्थाको केन्द्र राजदेवी मन्दिर सिंगारिएर झकिझकाउ बनाइएको छ ।घटस्थापनादेखि नै हरेक साझ राजदेवी मन्दिर परिसरमा भजनसन्ध्या गरिँदै छ । यसका लागि भारतबाट सांस्कृतिक टोली आएको छ । राजदेवी, बौद्धीमाई, आमरथाना अन्नपूर्णदेवी र दुर्गा मन्दिर तथा चोकचोकमा देवी दुर्गाको प्रतिमा स्थापना गरिएको छ । दसैंमा पूजापाठ र भव्य मेला आयोजना गर्न स्थानीय युवा क्लबले शक्तिपीठहरूमा पण्डाल लगाएका छन् ।
प्राचीन मिथिलाको राजधानी र रूपमा जानकी मन्दिरका कारण धार्मिक पहिचान बनाएको जनकपुरमा दसैंको अवसरमा लाग्ने मेलाले अझ उचाइँ पाएको स्थानीय बताउँछन् । दसैंमा राजदेवी मन्दिर यहाँको मुख्य केन्द्र हो । छागर (बोका) बलिका लागि प्रख्यात छ यो मन्दिर । महावीर युवा कमिटी र राम युवा कमिटीले संयुक्त रूपमा त्यसको व्यवस्थापन गर्दै आएका छन् ।
शक्तिपीठ सजावटमा लाखौं खर्चने युवा कमिटीले बलि चढाउन आएका भक्तजनलाई नि:शुल्क भोजनको समेत व्यवस्था गरेको राम युवा कमिटीका अध्यक्ष शम्भु साह प्रेमीले बताए । स्थानीय निकायको चुनावले दसैंको सुरुवातमा मेलामा प्रभाव परे पनि परिणाम घोषणसँगै भक्तजनको भीड बढेको उनको भनाइ छ ।
जनकपुरका शक्तिपीठबाहेक यहाँका क्लबले माटोको मूर्ति स्थापना गरी दुर्गा मेला लगाउँदै आएका छन् । रामानन्द चौकामा महिना दिन लगाएर दुर्गा पूजाका लागि माटोको मूर्ति तयार गरिएको छ । १८ वर्ष देखि लाग्दै आएको दुर्गा पूजालाई यसपालि रामानन्द युवा क्लबले निरन्तरता दिएको हो । मूर्ति, पण्डाल, प्रसाद तथा सरसजावटमा ९ लाखभन्दा बढी खर्च भएको रामानन्द युवा कल्बका अध्यक्ष मनमोहन साहले बताए ।
रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक, कदम चोकमा पनि पूजा आयोजना गरिएको छ । आकर्षक पन्डाल र बिजुली बत्तीका कारण जनकपुर झिलिमिली बनेको छ । यहाँ क्लबहरूले चन्दा संकलन गरी दुर्गा पूजामा लाखांै खर्चंदै आएको साहले बताए । ‘मेला लगाएको खर्च ७/८ लाखभन्दा बढी हुन्छ,’ उनले भने ।
समाजिक संघसंस्थाको सरसजावट, उत्साह र चहलपलले जनकपुरमा दसैंको फरक पहिचान बनाएको जनकपुर उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष शिवशंकर साह बताउँछन् । ‘दसैं मेलाले पर्यटन र व्यपारमा प्रत्यक्ष फाइदा पुगेको छ,’ उनले भने । जनकपुरमा दसैंलाई केन्द्रित गर्दै सुरक्षा सतर्कता अपनाइएको प्रहरी उपरीक्षक चक्रबहादु सिंहले बताए । ‘विगतमा चाडपर्वमा भएका आपराधिक घटनालाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षाका लागि सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइएको छ,’ उनले भने ।
सस्ता बजारको आकर्षण
जनकपुरमा दसैंमेलाको आकर्षण गोपाल धर्मशालामा वर्षेनि लाग्ने ‘सस्ता बजार’ पनि हो । घटस्थापनाको दिनदेखि अष्ठमीसम्म लाग्ने यस्ता बजारमा पूजा पाठ, सरसफाइ, दैनिक उपभोग्य सामानहरू अगरबत्ती, साबुन, सर्फ, चियापत्ती, बिस्कुट, चिनी, खाने तेल, कपडा, चप्पलजुत्ता र शृंगारका सामान खरिद गर्न सर्वसधारणको भीड छ । दसैंका अवसरमा एकै स्थानबाट सहुलियत मूल्यमा उपभोग्य समान उपलब्ध गराउनु यस बजारको मुख्य उद्देश्य रहेको जनकपुर उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव सुरेन्द्र भण्डारीले जनाए । दसैंको ८ दिन चल्ने बजारमा ५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
दसैं बजार भनिए पनि सर्वसधारणले यसलाई अस्थायी बजारका रूपमा बुझ्छन् । यहाँ बाहिरभन्दा कम मूल्यमा सामान पाइने भएकाले सस्तो बजार भनिएको हो । दसैं बजारलाई नै केन्द्रित गरी दसैं मेला व्यवस्थापन समिति गठन गरिएको छ । प्रजिअ अध्यक्ष रहने उक्त समितिले बजारमा हुन सक्ने ठगी, गुणस्तरहीन सामानको बिक्रीवितरण र बेथिति नियन्त्रण गर्ने जिम्मा लिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij