शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आचार्य बालकृष्ण भारतका ८ ‌औं धनी

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • भारतीय कम्पनी पतन्जली आयुर्वेदका सिइओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा उक्लिएका छन्।

    चिनियाँ अनुसन्धान संस्थान ‘हुरन’ ले सन् २०१७ मा भारतका धनाढ्यहरुको जारी गरेको सूचीमा उनी आठौं स्थानमा परेका छन्। गत वर्ष यही सूचीमा उनी २५ औं स्थानमा थिए।

    एक वर्षमै उनको सम्पत्तिमा १७३ प्रतिशत वृद्धि भएर १ लाख १२ हजार करोड रुपैयाँ पुगेको बिबिसीमा उल्लेख छ।

    ‘हुरन’ का अनुसार बालकृष्णको सम्पत्ति तीव्ररुपमा बढ्नुमा नोटबन्दी र जीएसटीले मद्दत गरेको छ। नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको पनि संस्थानको भनाइ छ।

    ‘हुरन’ को यस वर्षको भारतीय धनाढ्य सूचीको पहिलो स्थानमा सदा झैं मुकेश अम्बानी छन्। दोस्रोमा दिलीप सांघवी, तेस्रो एलएन मित्तल, चौथो शिव नादर, पाँचौं अजिम प्रेमजी, छैठौं साइरस एस पुनावाला, सातौं गौतम अडाणी, आठौं बालकृष्ण आचार्य, नवौं उदय कोटक र दसौंमा सुनील मित्तल छन्।

    यी सबैमध्ये बालकृष्णको सम्पत्ति वृद्धि दोब्बरभन्दा बढी प्रतिशतले भएको देखाइएको छ।

    ४५ वर्षीय बालकृष्ण फोर्ब्स पत्रिकाले जारी गरेको विश्वकै धनाढ्य सूचीको ८१४ औं स्थानमा थिए। गत वर्ष फोर्ब्सकै भारतीय १०० धनाढ्य सूचीमा उनी ४८ औं स्थानमा थिए।

    बालकृष्ण पतन्जलीका सिइओ भए पनि उनले कुनै तलब नलिने दावी गर्दै आएका छन्। कम्पनीमा ९४ प्रतिशत उनको हिस्सा भएको बताइन्छ। पतन्जली पछिल्ला वर्ष निकै फाइदामा चलिरहेको कम्पनी हो र यसले भारतमा विदेशी कम्पनीलाई समेत टक्कर दिइसकेको छ।

    वि.सं. २०२९ साल साउन १९ गते जन्मिएका उनको पुर्ख्यौली घर नेपाल हो। स्याङ्जा घर भएका उनका बुबा जयबल्लभ कामका सिलसिलामा हरिद्वार बसेका बेला त्यहीं बालकृष्णको जन्म भएको थियो। आफ्ना बाबुले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको बालकृष्णले बताएका छन्।

    उनले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालय पढेका थिए। १३ वर्षमा उनी घर छोडेर फेरि हरिद्वार पुगेका थिए।

    आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुँदै आचार्य बालकृष्ण बनेका हुन्।

    उनका अनुसार सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकूलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता हो। सन् १९९५ मा दुवै मिलेर ‘दिव्य फार्मेसी’ र २००६ मा पतन्जली आयुर्वेद स्थापना गरेका हुन्।

    आज पतन्जलीले शृंगारदेखि खाद्यान्न र अन्य घरायसी सामग्री उत्पादन गर्दै आएको छ। कम्पनी बालकृष्णले सम्हाल्दै आएका छन् भने रामदेव यसको प्रवर्द्धन र प्रचारमा सक्रिय छन्।

    आचार्य बालकृष्ण आफ्नो सादा जीवनशैलीका कारण परिचित छन्। गत वर्ष उनले बिबिसीलाई दिएको एक अन्तर्वार्तामा पतन्जलीको सम्पत्ति आफ्नो व्यक्तिगत धन नभएको बताएका थिए।

    भारतको उत्तराखण्डस्थित हरिद्वार नजिकैको पतञ्जली योगपीठको मुख्यालय भवनको पहिलो तल्लामा उनको कार्यालय छ। योगगुरु रामदेवसँगका केही तस्बिर, बुद्ध धर्मको एउटा थान्का, केही पुस्तक र सजावटका सामग्री राखिएको उनको कार्यालय पनि साधारण खालको देखिन्छ।

    उनको कार्यालयमा एउटा कम्प्युटर पनि छैन। उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन्। त्यसबाहेक पतन्जलीको कामबाट अहिलेसम्म कहिल्यै विदा नलिएको पनि उनले बताएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij