प्रकाशित मिति : सोमवार, अशोज १६, २०७४
बर्दियामा आजदेखि अनिश्चतकालीन कर्फ्यु जारी गरिएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो।
दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मुस्लिमहरूले ताजिया दहन गर्ने परम्परा रहिआएको र आइतबार दुवै समुदाय एकपटक त्यहाँ पुग्दा झडप सुरू भएको भट्टराईले जानकारी दिए।
एउटै ठाउँमा दुई समुदाय भेला हुने अवस्था आएपछि प्रशासनले त्यहाँका हिन्दुहरूलाई शनिबार र मुस्लिम समुदायलाई आइतबारमात्र दहन गर्ने व्यवस्था मिलाएको भएपनि बाँकेबाट हिन्दुहरू एक्कासी पुगेपछि झडपको अवस्था उत्पन्न भएको उनको भनाइ छ।
‘हामीले हिन्दु र मुस्लिम समुदायलाई फरक फरक दिनमा विसर्जन गर्ने व्यवस्था मिलाएका थियौं’ उनले सेतोपाटीसँग भने,‘तर मुस्लिम समुदाय रहिरहेको अवस्थामा बाँकेतिरबाट १०/१२ गाडीमा हिन्दुहरू पनि पुगेपछि झडपको अवस्थ उत्पन्न भयो।’
आइतबारको झडप र प्रदर्शनपछि प्रशासनको सक्रियतामा १२ बजे साम्य भएपनि सोमबार बिहान पनि फेरि झडप सुरूपछि अवस्थालाई नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालयका कन्ट्रोल अफिसर बलबहादुर बुढाले जानकारी दिए।

‘दुर्गा विसर्जन गर्न गएका हिन्दू धर्मावलम्बी र ताजिया दहनका लागि गएका मुस्लिम समूहबीच हिजो आइतबार झडप भएको थियो’ बलबहादुर बुढाले सेतोपाटीसँग भने ।
आइतबारको विषयलाई लिएर सोमबार बिहानै ९ बजेदेखि पनि दुवै पक्षले प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रण गर्नको लागि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो ।
अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र अवस्था सामान्य बन्दै गएको प्रजिअ भट्टराईले जानकारी दिए। उनका अनुसार केहीबेरमा दुवै समुदायका प्रतिनिधिहरूलाई बोलाएर वार्ता गरी अवस्था सामान्य पारिने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij