शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ स्थापना गर्दै प्राधिकरण

  • प्रकाशित मिति : सोमवार, अशोज ३०, २०७४



  • काठमाडौं, असोज ३० । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ ।

    आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया सुुरु गर्न लागेको हो ।

    विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया सुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणसम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

    हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९१ प्रतिशतसम्पन्न भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सन्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको छ ।

    गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ ।

    काठमाडौंपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्जलगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।

    पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खन्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहनसक्छ ।

    ‘आगामी दिनमा जसरी भए पनि विद्युतीय सवारीमा जानै पर्छ । नागरिकलाई सचेतता अपनाउन पनि प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न लागेको हो’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

    तर, विद्युतीय सवारीको अवस्थामा भने नेपालको राम्रो रेकर्ड छैन । चल्दा चल्दैको ट्रली बसको कुनै संरचना पनि काठमाडौंमा छैन । जेनतेन सफा टेम्पो राजधानीमा चलिरहेको छ । केही समय अघि सम्पन्न नाडा अटो सोमा समेत विद्युतीय सवारीको प्रदर्शनी गरिएको थियो । नागरिक क्रमशः विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् ।

    बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, जापान, दक्षिण कोरिया, नेदरल्यान्ड, पोर्चुगल तथा स्पेनले पनि विद्युतीय सवारी साधनको बिक्री तथा प्रयोगमा विशेष ध्यान दिने लक्ष्य राखेका छन् ।

    अन्तर्राष्ट्रिय ऊर्जा संघको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड र स्वीडेनमा बिक्री वितरण हुने गरेको छ ।

    काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ विद्युतीय बस चलाउने योजना अगाडि सारे पनि त्यसको कुनै प्रक्रिया नै सुरु हुनसकेको छैन । महानगरले रु पाँच करोड रकम विद्युतीय बसका लागि छुट्ट्याइएको थियो । तर, प्रक्रिया सुरु नहुँदा कुनै ठोस् प्रगति हुनसकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij