प्रकाशित मिति : बुधबार, कार्तिक १, २०७४
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्नेबारे कुनै सूचना नआएको र त्यस्तो विषय कतै प्रवाहसमेत नभएको प्रस्ट पारेको छ । सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना आयोगबाट पाएको भन्दै सत्ता नछाडेका माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार निर्वाचन सर्न सक्नेसम्बन्धी कुनै पनि सूचना आयोगले प्राप्त नगरेको बताए ।‘आयोगले सम्पूर्ण तयारी गरिरहेको छ,’ उनले भने, ‘चुनाव सर्ने कल्पनासमेत आयोगले गरेको छैन ।’ उनले निर्वाचन सामग्री व्यवस्थापन, मतपत्र छपाइजस्ता कामलाई तीव्रता दिइएको बताए ।
आयुक्त नरेन्द्र दाहाल पनि निर्वाचन सर्नेबारे कुनै छलफल वा परामर्श नभएकाले त्यस्तो सूचना आयोगबाट गएको विषयलाई अस्वीकार गर्छन् ।‘सरकारले औपचारिक वा अनौपचारिक कुनै प्रकारले चुनाव सार्ने विषयमा हामीसँग परामर्श गरेको छैन,’ उनले भने,‘आयोग सम्पूर्ण रूपमा चुनावी तयारी जुटेको छ । तोकिएकै मितिमा चुनाव हुनेमा शंका नगरे हुन्छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij