शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २, २०७४



  • काठमाडौं, कात्तिक २ । मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।

    सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरिन् ।

    एक हप्तासम्म सुन्दरीजल क्षेत्रकै धारामा पानी नआएपछि बुधबार स्थानीयवासीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रका प्रमुखलाई भेटी नियमित पानी वितरणको व्यवस्था मिलाउन माग गरे ।

    लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई वाग्मतीको पानी लगेर मेलम्चीको प्रशोधन केन्द्र र पाइपमा परीक्षण गर्दा पानी आपूर्तिमा अवरोध नहुने गरी गर्ने सम्झौता भएको बताउँछन् ।

    सुन्दरीजल जलविद्युत् केन्द्रमा मर्मत भइरहेकाले पनि पानी कम वितरण भएको हुनसक्ने उनको भनाइ छ ।

    मेलम्ची खानेपानी आयोजनाले भने पानी परीक्षण गरेर पुरानै सञ्जालमा फर्काइने व्यवस्था मिलाइएकाले धारामा पानी बन्द हुनुपर्ने कारण नरहेको जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पानी परीक्षणले नभई अन्य कारणले नै अवरुद्ध भएको हुन सक्ने बताए ।

    ‘प्रशोधन केन्द्रका ६ वटा कक्षमा पानी परीक्षण भइसकेकाले अब चार दिनमा बाँकी दुई कक्ष पनि परीक्षण गरी सकिने छ, प्रशोधन केन्द्र परीक्षण सकेपछि पाइपको परीक्षण लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ,’ उनले भने ।

    पानी अवरुद्ध भएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धर पुरानो सञ्जालको पानी नयाँ प्रशोधन केन्द्रमार्फत नयाँ सञ्जालबाटै परीक्षण गर्दा पुरानो सञ्जालमा पानी नआएको हुनसक्ने बताउँछन् ।

    पानीको स्रोत भएकै स्थानमा पानी नदिई अन्यत्र वितरण नगर्न लिमिटेडलाई पटक–पटक अनुरोध गरिए पनि नमान्दा स्थानीयवासीले पानी नपाएको उनले सुनाए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij