प्रकाशित मिति : बिहिबार, कार्तिक ९, २०७४
आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ। अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला। अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर। यो खबर आजको अन्नपूर्णमा अनन्त वाग्लेले लेखेका छन्।
स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र कान्छी अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ। मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ। चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ। कान्छीले श्वेताको पीडा भुलाउने काममात्र गरेको छैन। हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ।’
यसअघिको चलचित्र कोहिनुरमा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी। तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको यादमात्रै बाँकी छ। ‘कतिपय चलचित्रका दृश्य छायांकन गर्दा श्वेता धेरै भावुक बन्थिन्। तर, आफैं सम्हालिनुको विकल्प थिएन, र पतिकै सपना पूरा गर्न आएको स्मरण गर्दै पुनः काममा लाग्थिन्’, आकाश भन्छन्। नेपाली चलचित्र उद्योगमा यसअघि पनि ग्रामीण परिवेश पस्कँदै चलचित्र कान्छी निर्माण भएको थियो र मुख्य भूमिकामा थिइन् नायिका शर्मिला मल्ल। अहिलेकी कान्छी र उहिलेकी कान्छीमा के भिन्नता छ ? निर्देशक आकाश भन्छन्, ‘यो गाउँले परिवेशमा हुर्किएको सामाजिक प्रेमकथा हो। यसमा हाम्रै समाजको कथा छ। उहिलेकी कान्छी त त्यसै पनि लिजेन्ड थिइन्।’
चलचित्र छायांकन गर्न ४८ दिन लागेको थियो। चलचित्रमा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन्। नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियान्ता भूमिका श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीको संगीत रहेको छ। वसन्त श्रेष्ठको कारियोग्राफीमा चारवटा गीत समेटिएका छन्। चलचित्र २६ माघबाट प्रदर्शनमा आउने भएको छ।
श्रद्धाञ्जलि दिन चलचित्र बनाएकी हुँ
स्वर्गीय पति तथा नेपाली सिने जगत्का चम्किला तारा श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जलिस्वरूप कान्छी निर्माण गरेकी हुँ। एउटा राम्रो चलचित्र पस्कने मेरो इच्छा हो। अति रमणीयस्थल मुस्ताङको सेरोफेरोमा छायांकन गर्नु कम चुनौतीपूर्ण थिएन। तर यो चुनौतीलाई सहजै स्वीकार गरी मेरो हरेक पाइलामा कलाकार तथा प्राविधिकहरूले साथ दिनुभयो। मेरो सोचलाई साकार बनाउन ‘मानसिक ऊर्जा’ प्राप्त भएको छ।नेपाली लोकभाकालाई टपक्क टिपेर ‘चरी चट्ट परी भुरुरु खोली तिरैतिर’ बोलको सुमधुर गीत दर्शक श्रोतामाझ कात्तिक महिनाभित्र पस्कने जमर्को गर्दैछु।
नयाँ ‘कान्छी’ आउँदा खुसी
२०४१ सालमा बनेको बीएस थापा निर्देशित चलचित्र कान्छीकी नायिका शर्मिला मल्ल उद्योगमा नयाँ कन्छी आउँदा खुसी छिन्। एक सय एक दिन मनाउन सफल उतिबेलाको सफल चलचित्रमा कान्छीलाई साथ दिने कान्छा थिए शिव श्रेष्ठ। अहिलेकी कान्छीलाई भने दयाहाङ राईले साथ दिएका छन्। पुरानो कान्छीका संगीतकार गोपाल योञ्जन हुन्। कान्छाकान्छीको प्रसंगमा यदाकदा चलचित्र निर्माण हुने गरेका छन्। दुई दशकअघि निर्देशक सूर्य बोहोराले राजेश हमाललाई नायक लिएर चलचित्र कान्छा बनाएका थिए। अहिले भर्खरै अर्का निर्देशक शोभित बस्नेतले छोरो सलोनलाई लिएर बाबुकान्छा निर्माण गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij