प्रकाशित मिति : सोमवार, पुस ३, २०७४
सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तीय स्रोत पनि जुटाएको छ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका र तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो। स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तीय स्रोतको खाका तयार पारिएको समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए।
प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्षभित्रै करीब २ सय ७० देखि ३ सय ६७ अर्ब लगानी गर्न सक्ने क्षेत्रहरूको पहिचान गरिएको छ । समितिका संयोजक वाग्लेले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे।
समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन ट्याक्सलाई मुख्य स्रोतको रूपमा लिएको छ। त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान तथा अन्य बीमा कम्पनीहरू, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन कठिनाई नरहेको पनि स्पष्ट पारेको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीमा सम्पन्न हुने सुनिश्चित भएको स्पष्ट पारे।
उनले यो आयोजनालाई सफल बनाउन स्वदेशी पूँजी र प्रविधिमै निर्माण गर्ने निर्णय लिइएको स्पष्ट पारे।
१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय खारेज गरेपछि सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij