प्रकाशित मिति : सोमवार, पुस ३, २०७४
चीनले सन् २०५० सम्ममा आफूलाई ‘सम्वृद्ध सभ्यता’ का रूपमा विकास गर्ने लक्ष्य लिएको एक चिनियाँ अधिकारीले बताएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेसले हालै पारित गरेका निर्णय र चीनको आगामी लक्ष्यबारे जानकारी गराउन नेपाल आएका चाइनिज अकाडमी अफ सोशियल साइन्सेसका अध्यक्ष वाङ हुइगुवाङले भने, ‘हाम्रो पार्टीले सन् २०५० सम्मका लागि चीनको लक्ष्य निर्धारित गरेको छ। सन् २०३५ सम्ममा समाजवादको आधुनिकिकरण पुरा गर्ने र २०५० सम्ममा सबैभन्दा शक्तिशाली र आधुनिक मुलुक बनाउने, सम्वृद्ध सभ्यता बनाउने।’
उनले यो लक्ष्य पुरा गर्न कम्युनिष्ट पार्टीले समाजको बलियो नेतृत्व गर्ने बताए। ‘नयाँ युगमा नयाँ चुनौती ग्रहण गर्न पार्टी बलियो हुनुपर्छ, त्यसका लागि कडा अनुशासन चाहिन्छ,’ उनले भने।
शक्तिशाली पार्टी निर्माणका लागि भ्रष्टाचार अन्त्य गर्न मुख्य जोड दिएको उनले बताए। गत पाँच वर्षमा भ्रष्टचार गरेको आरोपमा पार्टी भित्र कति जनालाई कारबाही भयो भन्ने उनले तथ्याङक प्रस्तुत गरे।
उनले भने, ‘केन्द्रीय समितिदेखि पोलिटब्यूरोसम्मका ३०० जना नेतालाई हामीले कारबाही गर्यौ। पार्टीको तल्लो तहका १ लाख अधिकारीमाथि कारबाही भएको छ भने २ लाख ५६ हजारमाथि भ्रष्टाचारको आशंकामा छानविन भएको छ।’
हुईवाङले चीनले आफ्नो मुलकको सम्वृद्धिकोलागि मात्र नभई विश्व शान्ति र सम्वृद्धिका लागि काम गर्न चाहेको बताए।
शान्त, सफा, सुरक्षित, सम्वृद्ध र सुन्दर विश्वको निर्माणमा चीन योगदान गर्न चाहान्छ। ‘चीनले सबै मुलुकको अस्तित्वको सम्मान गर्छ र ठूला मुलुकले साना मुलुकलाई दवाद दिने कुराको विरोध गर्छ,’ उनले भने।
नेपाल र चीनबीच घनिष्ठता बढाउने आफ्नो मुलुकको उद्धेश्य रहेको उनले बताए। ‘नेपाललाई सहयोग गर्ने र सहायता दिने मेरो सुझाव हुनेछ,’ उनले भने।
आगामी दिनमा झन् धेरै नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने चीनको योजना रहेको पनि उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij