प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्।
प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झण्डै पाँच दर्जन मन्त्रीहरुको भ्रमण बिलको खात लागेको छ।
रकम सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रीहरुको भ्रमण खर्च भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयसँग एक करोड माग गर्दै पत्र पठाएको छ। तर, अर्थ मन्त्रालयबाट रकम नआएकाले मन्त्रीहरुले तीन सातादेखि भुक्तानी पाउन नसकेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीहरुको भ्रमणवापत विनियोजन गरेको रकम सकिएकाले अर्थसँग रकम माग गरिएको जानकारी दिए। अर्थबाट रकम आउनासाथ भुक्तानी प्रक्रिया थालिने उनले बताए।
प्रधानमन्त्री कार्यालय लेखा शाखाका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५ का लागि मन्त्रीहरुको भ्रमण तथा अनुगमन शीर्षकमा एक करोड ३० लाख विनियोजन गरिएको थियो। एक वर्षका लागि उक्त रकम विनियोजन गरिएको भए पनि शेरबहादुर देउवा नेतृत्वमा ६४ मन्त्री रहेकाले अत्यधिक खर्च भई चारै महिनामा सो रकम सकिएको हो। –अन्नपूर्ण पोस्ट दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij