प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कक्ष निर्माणको तयारी तीव्र पारेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै संघीय संसद भवनको रुपमा प्रयोग गर्नेगरी संघीय संसद सचिवालयले तयारी तीव्र पारेको हो।
संविधानसभाको दुई कार्यकाल बैठक बसेको अन्नतर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद सचिवालयले संघीय संसद भवनको रुपमा २-२ वर्षमा नविकरण गर्नेगरी ६ वर्षको लागि भाडामा लिने सहमति गरिसकेको छ।
संसदको आफ्नै भवन सिंहदरबारमा भए पनि भूकम्पले क्षति पुर्याएपछि सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपैयाँ भाडा तिर्नेगरी भाडामा लिएर यो भवन प्रयोग गदै आएको छ।
यसअघि संविधानसभाको बैठक बसेको ठाउँलाई नै प्रतिनिधिसभा बैठक बस्नेगरी कुर्सी संङ्ख्या घटाएर पुनः संरचना बनाइदै छ।
प्रतिनिधिसभा कक्षमा निलो रंगका कार्पेट, कुर्सीको कभर लगायतको पुनर्संरचना हुँदैछ। प्रतिनिधिसभा सँगै संयुक्त बैठक पनि सोही हलमा बस्नेगरी प्रतिनिधिसभाको हलमा सिट व्यवस्थापनको काम अगाडि बढिरहेको हो।
राष्ट्रिय सभाको बैठक भने संम्मेलन केन्द्रकै नुप्से हलमा रहनेछ जहाँ अघिल्लो भागमा राष्ट्रियसभा ५९ सदस्यका लागि र पछिल्लो भागमा पत्रकार, दर्शक बस्नेगरी कुर्सी, टेबल, माइक व्यवस्थापनको काम भइरहेको छ। राष्ट्रियसभाको कक्षमा भने कार्पेट, कुर्सीको कभरलगायतमा रातो रङ्गको प्रयोग गरिँदैछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक कक्षसँगै राष्ट्रिय सभा अध्यक्ष,उपाध्यक्ष, सभामुख, संसदीय दलको नेता, प्रमुख प्रतिपक्षी दलको नेताको लागि पनि कार्यालय तयार गरिँदैछ ।
बैठक हलमा आधुनिक खालको माइक र रेकर्डिङको व्यवस्थासँगै प्रतिनिधिसभा कक्ष पुस मसान्तसम्म र राष्ट्रियसभा कक्ष माघ १५ सम्म सक्नेगरी काम तीव्र पारिएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij